उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा हारेका प्रधान जिल्ला नगर उपाध्यक्ष निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रधानले ६५ मत ल्याएर निर्वाचित भए ।

उपाध्यक्ष पदका अर्का प्रत्यासी निरक केसीले ३३ मत ल्याए । जिल्ला तथा नगर उद्योग वाणिज्य कूल १०४ भोटमध्ये ९८ भोट खसेको थियो ।

गत वर्ष भएको महासंघको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्ष पदमा चुनाब हारेका प्रधानले एक तह तल्लो पद जिल्ला नगर उपाध्यक्षमा निर्वाचत भएका हुन् । पहिले पनि प्रधान जिल्ला नगर उपाध्यक्ष थिए ।

२०७३ चैत २९ गते भएको निर्वाचनमा प्रमोद श्रेष्ठ किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका थिए । तर, ०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ म्याग्दीको बेनी नगरपालिाकाको मेयरमा एमालेका तर्फबाट चुनाब उठेका थिए । श्रेष्ठले मेयरको निर्वाचन हारे ।

महासंघको विधानमा महासंघका पदाधिकारी कुनैपनि राजनीतिक पार्टीको सदस्य हुन र पार्टीको तर्फबाट निर्वाचनमा उठ्न नपाइने व्यवस्था छ । यस्तो गरेमा पदाधिकारीको पद खारेज हुने व्यवस्था छ । सोही व्यवस्था अनसार महासंघ कार्यकारीणी समितिले श्रेष्ठको उपाध्यक्ष पद खारेज गर्दै ०७४ भदौ १९ गते निर्वाचनको मिति तोकेको थियो ।

आफूलाई पदबाट बर्खास्त गरिएको र तोकिएको निर्वाचनको मिति खारेज गर्न माग गर्दै श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । र, कारण पेश गर्न श्रेष्ठलाई भनेको थियो ।

तर, श्रेष्ठले कारण पेश गर्न सकेनन् । र, महासंघले फेरि ०७४ फागून २५ गतेका लागि निर्वाचनको मिति तोक्यो ।

महासंघले मिति तोकेपछि श्रेष्ठले फेरि निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्बोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि फेरि चुनाब भएको हो ।


पुष्प दुलाल