लघुवित्तले महिलालाई यसरी बनायो आत्मनिर्भर



कालीकोट । आठ वर्षअघि खांडाचक्र नगरपालिका-२ निवासी नानी शाहीलाई घर खर्च चलाउनु परेमा श्रीमानसँग पैसा छ कि भनेर माग्नुपर्ने अवस्था थियो । तर अहिले ठीक उल्टो भएको छ ।

श्रीमानले आवश्यक परेको बेलामा आफूसँग पैसा मागेर समस्या टार्न थालेको शाही बताउँछिन् । उनले विगत ७ वर्षअघि सहकारीको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर पहिलो पटक ५ हजार रुपैयाँ कर्जा लिएर व्यवसाय शुरु गरेकी थिइन् ।

सामान्य चिया पसलबाट आरम्भ गरेको व्यवसाय अहिले बढ्दै गएको छ । नानी अहिले श्रीमानसँग मिलेर जिल्ला अस्पतालमा होटल व्यवसाय गर्दै आएकि छन् ।

जिल्ला अस्पतालमा खाजाघर सञ्चालन गरेर मासिक २३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेको शाही बताउँछिन् । जिल्ला अस्पतालभित्र र बाहिर सञ्चालन गरेको खाजाघरमा बिहानदेखि बेलुकासम्म उनलाई भ्याइनभ्याई छ ।

अहिले समूहका महिला सदस्यको विश्वासबाट ३ लाख रुपैयाँभन्दा बढी कर्जा लिएकी उनले मासिक रुपमा कर्जाको किस्ता तिर्दै आएकी छन् । यसैको आम्दानीबाट घर खर्च मात्र होइन छोरीलाई पढाउँछिन् ।

पहिले समाजमा पुरुषलाई मात्र कर्जा दिने साहुमहाजनभन्दा महिलालाई विश्वास गर्ने सहकारी तथा वित्तीय संस्थाका कारण आफूहरुलाई उद्यमी बन्ने अवसर मिलेको यहाँका महिलाहरु बताउँछन् । कतिपय महिलाले अन्य निकायबाट सीप सिकेर समूहबाट कर्जा लिई सफल उद्यमी बनेका छन् ।

नरहरिनाथ गाउँपालिका तीन निवासी शान्ति बुढा अहिले श्रीमान् जहले बुढाको सहयोगमा घरमा कुखुरापालन र खुद्रा पसल चलाउँछिन् । यस अतिरिक्त उनी तरकारी खेती पनि गर्छिन् ।

खुद्रा पसलबाट व्यवसाय शुरु गर्नुभएकी बुढाले गाउँको साहुबाट वार्षिक ३६ प्रतिशतमा २० हजार कर्जा लिएकी थिइन् । त्यही सिलसिलामा कुमाल गाउँमा हिमचुली कृषि सहकारी संस्था लि।ले माइक्रो फाइनान्स समूह गठनका लागि पठाएका कर्मचारीबाट संस्थाबाट पाउने सुविधाका बारेमा थाहा पाइन् ।

कर्जा पाउन र कमाएको रकम बचत गर्न सहज हुने देखेपछि गाउँका महिला जम्मा गरेर समूह गठन गर्दै पहिलो पटक ५० हजार रुपैयाँ कर्जा लिएर साहुको २० हजार फिर्ता गरे । त्यसैबाट कारोबारलाई बढाएर अहिले मासिक १२ हजारसम्म आम्दानी गरिरहेको बुढा बताउँछिन् ।

छोरीलाई काठमाडौँमा रेडियोलोजी पढाउँदै आएको उनले सुनाइन् । ‘माइक्रो फाइनान्स समूह नभएको भए छोरीको पढाइका लागि थुप्रै ऋण लिनुपर्ने हुन्थ्यो । अहिले समूहबाट लिएको कर्जा मासिक रुपमा तिर्न सफल भएको छु ।’ उनले भनिन् ।

अहिले माइक्रो फाइनान्स समूहबाट ३ लाख ६० हजार रुपैयाँ कर्जा लिएको उनी बताउँछिन् । आफूहरुलाई अहिले श्रीमान्सँग स–सानो कुनै पनि रकम माग्नु नपरेको बरु उल्टै आफूहरुले दिनुपरेको बुढाको भनाइ छ ।

रास्कोट नगरपालिका–५ निवासी मनपुरा तिरुवाको जीवनशैली अहिले परिवर्तन भएको छ । उनको खुद्रा पसल गर्ने चाहना भएपनि श्रीमान्को कमाइले सम्भव हुने नदेखेपछि एक वर्षसम्म सोचेको कुरा मनमा राखेर बसिन् ।

अन्ततः इच्छा मुताबिक उहाँले सहकारी संस्थाको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर कर्जा लिई व्यवसाय शुरु गरिन् । गाउँबाट बजारमा खुद्रा व्यवसाय शुरु गर्नुभएको मनपुराले घर खर्च व्यहोर्दै मासिक किस्ता पनि तिरिरहेकी छन् ।

‘आफूलाई आवश्यक पर्ने गरगहना पनि जोडेको छु । समूह आफूहरुका लागि माइती जस्तै भएको छ,’ उनले सुनाइन् ।

स्थानीय जनप्रतिनिधि हुने अवसरसमेत पाएकी मनपुरा तिरुवा समाजको अगुवाको भूमिकासमेत निर्वाह गरिरहेकी छन् ।

चार वर्षअघि २३ जना महिलाको अगुवा भएका मनपुरा सामाजिक काममा समेत सहभागिता जनाउँछन् । जिल्लाका अधिकांश महिला अहिले आत्मनिर्भर हुने वातावरण बनेको यहाँका महिलाको भनाइ छ । कालीकोट जिल्लामा महिलामा आत्मविश्वास बढ्दै गएको र सहकारीका समूहमा बसेर नेतृत्व गर्न सक्षम हुने अवसरसमेत मिलेको माइक्रो फाइनान्स प्रबन्धक मनिका बोहरा बताउँछिन् ।

उनका अनुसार अहिले पनि महिलाले कर्जा लिए पनि पुरुष बिना व्यवसाय सञ्चालन असम्भव देख्नेका लागि यहाँका महिलाले उदाहरणीय काम गरेर देखाएका छन् ।

जिल्लामा माइक्रो फाइनान्स सञ्चालन गरेको हिमचुली सहकारीले अहिले ६ हजार ५०० महिलालाई नौ करोड कर्जा प्रवाह गरेर व्यावसायिक बनाएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताइन् ।

‘पहिले पहिले कर्जा लिँदा कसरी तिर्ने होला भन्ने चिन्तामा पर्ने गरेको भए पनि अहिले भने महिलामा व्यावसायिक दक्षता बढ्न थालेको छ,’ उनले भनिन् ।

सात वर्षअघि शुरुआतको चरणमा पाँच हजार कर्जा प्रवाह गर्ने सहकारी संस्थाले अहिले व्यवसाय हेरेर तीन लाख सम्मको कर्जा प्रदान गर्दैआएको छ ।

महिलाले कमाएको रकम लघु बचत, लघु बिमा र लघु कर्जाका माध्यमबाट उनीहरुलाई नै आत्मनिर्भरतातर्फ उन्मुख गराउने काम मात्र नभई सहकारीले सामाजिक काममा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएको संस्थाका अध्यक्ष कालीबहादुर महताराले बताइन् ।

‘महिलालाई व्यावसायिक मात्र हैन आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गराउन पनि सहकारी सफल भएको छ,’ उनले भनिन् ।

कालीकोट जिल्लामा महिलालाई आगामी तीन वर्षसम्म १५ हजार महिलालाई समूहमा आबद्ध गराउने सहकारीले लक्ष्य छ ।

कालीकोट जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने दुई दर्जन सहकारी संस्थाका साथै एक दर्जन लघुवित्तको काम गर्ने वित्तीय संस्था छन् । चारभन्दा बढी वित्तीय संस्थामा बसेर बचत गर्ने महिला पनि छन् । महिलाका लागि अवसर र चुनौती दुवै थपिएको किसान माइक्रो फाइनान्समा काम गर्दै आउनुभएका दीपक विष्ट बताउँछन् ।

नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मानशोभा बुढाले महिलामा चेतना अभिवृद्धि भएको र उनीहरुलाई हरेक क्षेत्रमा अवसर दिँदै अगाडि बढाउन जरुरी रहेको बताउँछन् ।

कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । रासस


पुष्प दुलाल