३ अर्बको आयोजना सञ्चालन




भीमदत्त । भीमदत्त नगरपालिकामा ३ अर्ब रुपैयाँको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ ।

शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताए । भीमदत्तलाई व्यवस्थित शहरसँगै प्रदेश नं ७ को उत्कृष्ट नमूना शहर बनाउन कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।

‘भीमदत्तलाई नमूना शहर बनाउन २० वर्षे योजना बनाएका छौँ,’ उनले भन्नुभयो । पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन् ।

आयोजनाअन्तर्गत निर्माण हुने २ लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले १ अर्ब ७० करोड रुपैयाँ लगानीमा ढलसहितको २ लेनको नमूना सडक निर्माण हुने बताए ।

फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उनले बताए ।


क्लिकमान्डु