राजा हटेको १० वर्षपछि साढे २ करोड खर्चेर नारायणहिटीमा पर्खाल लगाउँदै सरकार



काठमाडौं । नारायणहिटी दरबारबाट राजा हटेपछि सरकारले पहिलोपटक दरबार क्षेत्रको पर्खाल लगाउने भएको छ । सरकारले १० वर्षपछि नारायणहिटीको पर्खाल मर्मत गर्न लागेको हो ।

नारायणहिटी दरबार संग्रहालयको पर्खाल लगाउन २ करोड ६० लाख ९८ हजार ४ सय ९८ रुपैयाँ बोलपत्र आह्वान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दरबारको भत्किएको पर्खाल मर्मतको लागि टेन्डर आवेदन मागेको हो ।

जसका लागि मन्त्रालयले ४ वटा भागमा विभाजन गरेको टेन्डर आवेदन मागेको छ । नागरायणहिटी परिसरको सबवेको दायाँ बायाँ पर्खाल निर्माण कार्यको लागि ८७ लाख ७० हजार ५ सय २१ रुपैयाँको टेन्डर खुल्ला गरिएको छ ।

त्यस्तैगरी नारायणहिटी परिसर भित्रको सबवे देखि पुलघरसम्म पर्खाल निर्माण कार्यको लागि ५० लाख ८२ हजार ९ सय ९७ रुपैयाँ बराबरको टेन्डर आवेदन गरिएको छ ।

नारायणहिटी परिसर भित्रको पुतलीढोकादेखि नानीगन्जसम्मको पर्खाल निर्माण कार्यको लागि ३७ लाख ७० हजार ९ सय ८९ रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको छ । त्यस्तै, त्रिभुवन सदन पुनः निर्माण कार्यको लागि ८४ लाख ७३ हजार ९ सय ९१ रुपैयाँको टेन्डर आह्वान गर्दै सूचना प्रकाशन गरिएको छ ।

ई–विडिङ मार्फत आवेदन भएका फाइलमात्र सदर गरिने सूचना प्रकाशन मन्त्रालयले गरेको छ ।


क्लिकमान्डु