एक वर्षमा विनोद चौधरीको सम्पत्ति १९ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ती १९ अर्ब रुपैयाँले बढेको छ ।

फोब्र्सले सार्वजनिक गरेको २०१८ को सूचि अनुसार चौधरीसँग १ अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ती छ । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो भनेको १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

यो पटक चौधरी विश्वका धनी व्यक्तिको १५६१ औ सूचिमा रहेका छन् । अघिल्लो पटक उनी १५६३ औ सूचिमा रहेका थिए ।

फोब्र्सको सन् २०१७ को सूचि अनुसार चौधरीसँग १ अर्ब ३१ करोड अमेरिकी डलर बराबरको सम्पत्ती थियो । एक वर्षको अवधीमा चौधरीको सम्पत्ती १९ करोड अमेरिकी डलरले बढेको छ । जुन नेपाली रुपैयाँमा रुपान्तरण गर्दा १९ अर्बभन्दा बढी हुन आउने छ ।

सन् २०१३ मा पहिलो पटक फोब्र्सको अर्बपतिको सूचिमा प्रवेश गरेका चौधरीले ५ वर्षको अवधीमा सम्पत्ती ५० अर्ब नेपाली रुपैयाँले बढाउन सफल भएका छन् ।

सन् २०१३ मा पहिलो पटक अर्बपतिको रुपमा प्रवेश गर्दा उनीसँग १ अर्ब अमेरिकी डलर सम्पत्ती थियो । जुन सन् २०१८ मा आइपुग्दा १ अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ती हुन पुगेको छ ।

पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सभासद् रहेका चौधरी यो पटक नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन् ।

फोब्र्सका अनुसार चौधरीसँग नबिल बैैंकको मुख्य सेयर,सिजी फुड अन्तर्गत वाइवाइ चाउचाउ रहेको जनाएको छ । वाइवाइ भने भारत,सर्विया,साउदी अरेबिया तथा बंगालदेशमा फैलिएको छ ।

चौधरीसँग विभिन्न देशमा ताज ग्रुपसँगको सहकार्यमा २९ वटा आफ्नो स्वामित्व र ७० वटा व्यवस्थापन लिएका होटल रहेका छन् ।

विश्वमा २२०८ जना अर्बपति

अर्बपतिको सूचि सार्वजनिक गर्ने पत्रिका फोब्र्सले अर्बपतिको सूचि २०१८ सार्वजनिक गरेको छ ।

फोब्र्सले सार्वजनिक गरेको सूचिमा विश्वमा २ हजार २ सय ८ जना अर्बपति छन् । जसको सम्पत्ती ९.१ ट्रिलियन डलर रहेको छ । अघिल्लो वर्षमा तुलनामा विश्वमा अर्बपतिको सम्पत्ती १८ प्रतिशतले बढेको छ ।

यो वर्ष अमेरिकन अनलाइन सपिङ साइट अमेजनका संस्थापक जेफ बेजोसले सम्पत्ती कमाउने मामलामा रेकर्ड राखेका छन् । अघिल्ला वर्षका सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई पछि पार्दै ११२ अर्ब अमेरिकी डलर सम्पत्तीसँगै उनी पहिलो स्थानमा रहेका छन् ।

फोब्र्सका अनुसार उनको सम्पत्ती एक वर्षमा ३९ अर्ब अमेरिकी डलरले बढेको छ । फोब्र्सले सन् १९८७ देखि अर्बपतिको सूचि प्रकाशित गर्न थालेपछि कसैको सम्पत्ती यती ठूलो रकमले बढेको पहिलो पटक भएको उल्लेख गरेको छ ।

बिल गेट्स ९० अर्ब अमेरिकी डलर सहित दोस्रो स्थानमा रहेका छन् । सेयर बजारका बादशाह वारेन बफेट ८४ अर्ब अमेरिकी डलर सम्पत्तीका साथ तेस्रो स्थानमा रहेका छन् । लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ अर्ब अमेरिकी डलर सम्पत्तीका साथ पाचौं स्थानमा रहेका छन् ।

यो वर्ष २५९ जना अर्बपति थपिएका छन् । जसमा चीनबाट सबैभन्दा बढी ८९ जना तथा अमेरिकाबाट १८ जना थपिएका छन् । फोब्र्समा अमेरिकाका ५८५ जना अर्बपति छन् । भने चीनका ४७६ जना रहेका छन् ।

अर्बपति अमेरिक राष्ट्रपति डोनाल्ट ट्रम्पको सम्पत्ती भने घटेको छ । उनीसँग अहिले ३ अर्ब अमेरिकी डलर सम्पत्ती छ । अघिल्लो पटक ५४४ अर्बपतिको सूचिमा रहेका ट्रम्प यो पटक ७६६ औ सूचिमा रहेका छन् ।

फोब्र्सले अबपतिको सूचि स्टक मार्केटको मुल्य तथा अमेरिक डलरको विनिमय दरको आधारमा गरेको जनाएको छ ।


क्लिकमान्डु