सुरक्षा व्यवस्था चुस्त बनाउन निर्वाचन आयोगको आग्रह



काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुँदैछ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पु¥याएको योगदानप्रति धन्यवाद दिए ।

निर्वाचन आयुक्त सुधीर कुमार शाहले राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहीत ढङ्गले निर्वाचनका सबै प्रक्रियामा सुरक्षा प्रदान गर्न निर्देशन दिए ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा लगायतका सुरक्षा निकायका प्रतिनिधिहरुले शान्तिपूर्ण रुपमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षाका दृष्टिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बैठकमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी. एवं अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।