साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने



काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले आव  २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले आव २०७३/७४ मा ७६ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । आव २०७२/७३ मा कर्पोरेशनको मुनाफा ६१ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

कर्पोरेशनको मंगलवार सम्पन्न ५१ साधारणसभाले सो निर्णय गर्दै आगामी वर्षदेखि काठमाडौँलगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका बीचमा पनि कर्पोरेशनले चालू आवको माघ मसान्तसम्ममा छ अर्ब ६६ करोड रुपैयाँ कारोवार गर्न सफल भएको थियो । गतवर्षको सोही अवधिमा पाँच अर्ब ४१ करोड रुपैयाँको कारोवार भएको थियो । चालू आवमा कर्पोरेशनले १० अर्ब रुपैयाँ करोवार गर्ने लक्ष्य राखेको छ ।

कर्पोरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।

साधारणसभामा कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताए।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिर्इन् । उनले आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पोरेशनले उच्च प्राथमिता दिएको बतार्इन् ।

पछिल्लो स्वास्थ्य सर्वेक्षण अनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नूनको प्रयोग गर्छन् ।


क्लिकमान्डु