कामना सेवा विकास बैंकको शाखा अब काठमाडौंमा




काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं ३०, ज्ञानेश्वर, आनन्दभैरव मार्ग स्थित आफ्नै भवनबाट मुख्य कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । आधुनिक बैकिङ्ग सुविधा, प्रर्याप्त पार्किङ्ग सुविधा सहितको भवन र पूर्वाधारले ग्राहकका आवश्यकता अझै सरल र सहज ढङ्गले पुरा हुने विश्वास बैंकले लिएको छ ।
विशेषगरी पोखरा, बुटवल र नारायणगढ क्षेत्रमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको बैंकले काठमाडौंमा पहिलो पटक शाखा खोलेको हो । मुख्य शाखा समेत ४१ शाखा मार्फत सेवा प्रदान गरेको बैंकले निकट भविष्यमै विभिन्न १७ स्थानमा शाखा कार्यालय स्थापनाको आवश्यक तयारी समेत अन्तिम अवस्थामा रहेको जनाएको छ ।

३ अर्व रुपैयाँ अधिकृत पूंजी र २ अर्व ६ करोड रुपैयाँ चुक्ता पूंजी रहेको बैंकको पौष मसान्तसम्मको निक्षेप १३ अर्व ८७ करोड ४२ लाख रुपैयाँ छ भने कर्जा लगानी १२ अर्व ३९ करोड ११ लाख रुपैयाँ छ । सो अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैया संचालन मूनाफा आर्जन गरेको छ । बैंकले मिति चैत ५ गते सम्मको लागि १५ प्रतिशतका दरले हकप्रद सेयरको आवेदन माग गरिरहेको छ ।

हकप्रद सेयर जारी भएपछि बैंकको चूक्तापूंजी २ अर्व ३७ करोड रुपैयाँको हाराहारीमा पुग्ने छ । गत वर्षको मुनाफाबाट वोनश शेयर वितरण पश्चात बैंकको चूक्तापूजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम २ अर्व ५० करोड भन्दा बढी हुने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्ले जानकारी दिए ।

कारोबार शुभारम्भको उपलक्ष्यमा बैंकले शुभारम्भ बचत खातामा ९ प्रतिशत र १ सय ८० दिने मुद्दतिमा १३ प्रतिशत बार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन ५०० भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु