चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि, १ खर्ब ७५ अर्ब अमेरिकी डलर सुरक्षा खर्च पुग्यो



चीन । चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ ।

चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो ।

गत दुई बर्षको तुलनामा सन् २०१७ आर्थिक वृद्धिदर सामान्य बढी देखिएपनि सन् २०१३ पछि तेस्रो पटक गत बर्ष पनि आर्थिक वृद्धिदर एक अङ्कमा देखिएको छ ।

सन् २०१६ मा ७.६ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०१७ मा ७ प्रतिशत कायम हुन आएको देखिएको छ ।

चीनको रक्षा बजेटले अन्य चर्चित मुलुकहरूको राष्ट्रिय बार्षिक खर्चको तुलनामा यहाँको कुल ग्राहस्थ उत्पादनको सानो हिस्सामात्र ओगट्ने गर्छ ।

चीनको सेनाको प्रतिव्यक्ति खर्चदर पनि अन्य विकशित मुलुकको तुलनामा कम हुने गरेको १३ औँ नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी)का प्रथम बार्षिक सभाका प्रवक्ता झाङ यसुइले बताए ।

सुरक्षा बजेटको वृद्धिको ठूलो हिस्सालाई सैनिक सेवामा कार्यरत अधिकारीको सेवागत सुविधा, तल्लो तहको सैनिक समूहको तालिम तथा सुरक्षा समग्रीलाई आवश्यक सुधार गर्न प्रयोग गरिने प्रवक्ता झाङले बताए ।

त्यसैगरी बजेटले आर्थिक बर्ष २०१८÷०१९मा चीनको कुल ग्राहस्थ उत्पादनमा ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो आर्थिक बर्ष २०१६÷०१७ को तुलनामा ०.२ र २०१७÷०१८ को तुलनामा ०.३ प्रतिशतले कमी हो । यसका बाबजुद पनि चीन विश्वको अति शीघ्र आर्थिक वृद्धि हुने मुलुकका रूपमा रहनेछ ।

चीन सरकारको निर्यात र लगानीको सट्टा उपयोग र सेवाहरूका आधारमा अर्थतन्त्रको विकास गर्ने नीतिलाई प्राथमिकतामा राख्ने उद्देश्यका कारण चीनको अर्थतन्त्रमा सन् २०१५ पछि केही सुस्तता आएको देखिन्छ ।


क्लिकमान्डु