१७ करोड खर्चेर यसरी गरिँदैछ प्रज्ञा प्रतिष्ठानको ‘रिनोभेसन’, वाटर फाउन्टेन पनि बनाइने



काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको नेपाल प्रज्ञा प्रतिष्ठान १६ करोड ९८ लाख २७ हजार रुपैयाँमा जिणोद्धार भइरहेको छ ।

सदस्य सचिव प्रा.डा जीवेन्द्रदेव गिरीले प्रज्ञा प्रतिष्ठानको जिर्णोद्धारसँगै बर्षातको पानी जम्मा गर्नका लागि वाटर फाउन्टेन निर्माण गर्ने जानकारी दिए ।

‘भूकम्पबाट भवनमा क्षति पुगेकाले जिर्णोद्धार गर्न लागिएको हो, जिणोद्धार भएकाले भवनको पुरानो डिजाइनमा कुनै परिवर्तन गरिने छैनन्,’ गिरीले क्लिकमाण्डूसँग भने ।

नयाँ संरचनाको रुपमा प्रतिष्ठानको चौरमा बर्षातको पानी संरक्षण गर्नका लागि वटार फाउनटेनको निर्माण गरिनेछ । सो फाउन्टेनमा संकलित हुने पानी अगलागीलगायतका प्राकृतिक विपत्तको सामना गर्नका लागि निर्माण गर्न लागिएको गिरीले बताए ।

यसरी गरिँदैछ जिर्णोद्धार

भूकम्पबाट भवनामा क्षति पुगेकाले जिर्णोद्धारलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको छ । जिर्णोद्धार गरिने भएकाले भवनको डिजाइनमा कुनै किसिमको परिवर्तन गरिने छैनन् । भूकम्पबाट चर्केका भित्ताहरुलाई बलियो बनाउन रेक्ट्रोफिटिङलाई प्राथमिकतामा राखेर काम गरिँदै छ ।

जिर्णोद्धारसँगै ढल र पानीका पाइपलाईनको काम पनि अगाडि बढाइएको छ । पुरानो प्रविधिको प्रयोगगरी निर्माण गरिएका ढल र पानीका पाइपलाईनहरु भूकम्पका कारण भवनमा क्षति हुनुपूर्व नै जिर्ण अवस्थामा पुगिसकेका थिए । हाल भवनको जिर्णोद्धारको समयमा ड्रेनेज र स्यानिटेसनको काम पनि अघि बढाएको प्रा. डा गिरी बताउँछन् ।

भूकम्पका कारण भवनको छत, भ्याल-ढोका, एयर कन्डिसन, हलको सिट, पर्दा, साउण्ड सिस्टम, विद्युतिय उपकरण, लाइटलगायमा क्षति पुगेको थियो ।

भवनको छतमा क्षति पुगेकाले बर्षातको समयमा पानी छिर्नेलगायतका समस्याहरु देखिएका थिए । अघिल्लो बर्षको बर्षातको समय पानीको समस्याका कारण निकै कष्टपूर्वक बस्नु परेको थियो । सो समस्याबाट बच्नका लागि छत टाल्ने काम पूर्णरुपमा सकिएको गिरीले जानकारी दिए ।

प्रज्ञा भवनको १२६६ सिट क्षमता भएको प्रेक्षालय (हल)को सिट क्षमता पनि बढाइने छ । सिट क्षमता बढाएर १३ सयभन्दा माथि बाइने उनको भनाइ छ । बेलाबखत हुने लोडसेडिङको सामना गर्नका लागि सोलार प्यानल जडान गरिने छ ।

कहिले सकिन्छ ?

प्रज्ञा भवनको जिर्णोद्धारका लागि लामा-समान्तर-शान्ती जेभीसँग २०७४ असार २३ गते २ बर्षभित्रमा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

प्रा.डा गिरीका अनुसार २०७५ असार मसान्तसम्म जिर्णोद्धारको काम सक्नका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताउँछन् ।

‘असार मसान्तसम्म जिर्णोद्धार सक्न ठेकेदारलाई निर्देशन दिएका छौं, उनीहरुले पनि असार मसान्तसम्म सक्नेगरी काम गरिरहेका छन्,’ गिरीले भने ।

असारमा ठेक्का सम्झौता गरिए पनि जिर्णोद्धारको काम मंसिर महिनाबाट सुरु भएको प्रज्ञा भवनको इन्जिनियर शान्ति अर्याल जानकारी दिइन् ।

‘विभिन्न संघसंस्थाले दशैं तथा तिहारको कार्यक्रमका लागि हल लिजमा लिइसकेका थिए, त्यस समय जिर्णोद्धारको काम अगाडि बढाउँदा कार्यक्रमहरुमा प्रभाव पर्न सक्नेले केहि ढिलो काम अघि बढेको हो,’ अर्यालले भनिन् ।

प्रज्ञा भवन जिर्णोद्धार आयोजना प्रमृख नन्दन शर्माले असार मसान्तसम्म काम सक्नेगरी काम गरिरहेको बताउँछन् ।

‘ठेक्का सम्झौता भएको समयभन्दा ढिलोगरी जिर्णोद्धार गर्ने जिम्मा पाएका छौं, २ बर्षको ठेक्का सम्झौता भएपनि असार मसान्तसम्म सक्नेगरी तीब्र गतिमा काम गरिरहेका छौं,’ शर्माले भने ।

ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७६ असार २३ गतेसम्ममा प्रज्ञा भवनको जिर्णोद्धार सम्पन्न भइसक्नुपर्ने छ ।


पुष्प दुलाल