के हुँदैछ एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर ?



काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकले एकआपसमा मर्जरको तयारी थालेको डेढ वर्ष वितिसक्यो । सुरुमा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने उद्देश्यले यी बैंकले मर्जरको छलफल तीब्र बनाएका थिए ।

अहिले दुबै बैंकले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याइसकेका छन् । अब यी बैंक मर्जरमा जान्छन् कि जाँदैनन् ?

‘हामी अहिले पनि मर्जरको छलफल गरिरहेका छौं, सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भ्यालुएसनमा कुरा भइरहेको छ, त्यसका लागि भ्यालुएटर नियुक्तीको क्रममा छ,’ लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले क्लिकमाण्डूसँग भने ।

भ्यालुएटर नियुक्तिपछि उसले गरेको भ्यालुएसनमा दुबैं बैंकलाई चित्त बुझे मर्जरमा जाने सैद्धान्तिक सहमति गरेर अघि बढ्ने खालिङले जानकारी दिए ।

‘सुरुमा मर्जरको विषयमा छलफल हुँदा चुक्ता पुँजी बढाउने भन्ने उद्देश्य थियो, अहिले दुबैं बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेअनुसार पुगिसकेको छ,’ खालिङले भने, ‘अब मर्ज हुने भनेको ठूलो बन्न र बिजनेश ग्रोथ गर्नका लागि हो ।’

अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ छ । यी दुई बैंक मर्ज हुने हो भने अहिले नै चुक्ता पुँजी १६ अर्ब रुपैयाँभन्दा बढी हुन्छ । कति पुँजी पुग्ने विषय भने सेयर स्वाप रेसियोले तय गर्छ ।

राष्ट्र बैंकले ०७४ असार मसान्तमा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । गत पुस मसान्तसम्ममा एभरेष्टको ४ अर्ब ६० करोड र लक्ष्मी बैंकको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी थियो ।

एभरेष्टले शर्त राखेपछि…

दुई बैंकका लगानीकर्ताहरुबीच मर्जरको छलफल तीब्र भइरहेका बेला एभरेष्ट बैंकले भने विदेशी कम्पनीलाई ड्यू डेलिजेन्स अडिट (डीडीए) गर्न दिनुपर्ने शर्त तेर्स्याएको हो ।

एभरेष्ट बैंकले विदेशी कम्पनीलाई पनि डीडीए गर्न अनुमति माग्दै १३ महिनाअघि राष्ट्र बैंकमा निवेदन समेत दिएको थियो ।

‘एभरेष्टले विदेशी कम्पनीमार्फत् डीडीए गराउनका लागि अनुमति माग्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘डीडीएसम्बन्बी नियमावलीमा नेपाली फर्मले नै डीडीए गर्नुपर्ने व्यवस्था छ, जसअनुसार विदेशी फर्मले डीडीए गर्ने अनुमति दिन सकिएन ।’

डीडीए नियमावलीमा नेपालभित्र रहेका कम्पनीहरुको डीडीए नेपाली फर्मले नै गर्नुपर्ने उल्लेख छ । जसमा पनि १ जना चार्टर्ड एकाउन्टेन्ट र ३ जना उप–चाटर्ड एकाउन्टेन्ट हुनुपर्ने भनिएको छ ।

यी दुई बैंकबीच आफूले पनि मर्ज हुने हल्ला सुनेको तर उनीहरु औपचारिक प्रक्रियाका लागि अहिलेसम्म राष्ट्र बैंक नआएको पौडेलले सुनाए ।

बजार हल्ला सत्य

एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जरको छलफल भएको र छलफल सकरात्मक रहेको एभरेष्ट बैंकका एक सञ्चालकले बताए । तर, मर्जरमा जाने सैद्दान्तिक सहमतिमा हस्ताक्षर भइनसकेको भन्दै उनी थप बोल्न चाहेनन् ।

‘तपाईंले सुनेको हल्ला सही हो तर औपचारिकरुपमा निर्णय नभएसम्म मैले बोल्न मिल्दैन,’ ती सञ्चालकले भने ।

हल्लामै सिमित त हुन्न ?

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन । लक्ष्मी र एभरेष्टको मर्जर हुने हल्ला भएको पनि डेढ वर्ष भइसक्यो । अहिलेसम्म औपचारिक प्रक्रिया अघि बढ्न सकेको छैन । आगामी दिनमा के हुन्छ त्यो भने अहिले नै भन्न सक्ने अवस्था छैन ।


पुष्प दुलाल