२ सय मेगावाट विद्युत् जोगाउने यस्तो छ कुलमानको प्लान
काठमाडौं । कम बिजुली खपत गर्ने पंखा तथा पानी तान्ने पम्पको अभावमा बढी महसुल उठेको छ ? बढी महसुल तिर्दा तिर्दा हैरान हुनुभएको छ ? वा साँझ विहानको समय तपाईको बस्ती वा टोल तिर सबैले मोटर र पंखा चलाउँदा विजुली प्रसारणमा समस्या भएको छ ? यदि छ भने अब तपाईका लागि चिन्ताका दिन सकिने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले निकट भविस्यमा नै कम विद्युत् खपत गर्ने पंखा र पानी तान्ने मोटर पम्प ल्याउन लागेको छ । बजार प्रवद्र्धन गर्ने र ऊर्जा दक्षता कार्यक्रम अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले पूराना पम्प तथा पंखा विस्थापन गर्न लागेको हो ।
प्राधिकरणले बुधबार र विहिबार नै एक सार्वजनिक सूचना प्रकाशित गरी कम विद्युत् खपत गर्ने पंखा वा पानी तान्ने पम्प खदिका लागि प्रक्रिया सुरु भएको जनाएको छ । प्राधिकरणले त्यस्ता पम्प वा पंखा उपलब्ध गराउन सक्ने फर्म तथा संस्थालाई ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
प्राधिकरणका हाल देशभर करिब ३५ लाख ग्राहक रहेका छन् । उनीहरुलाई लक्षित गरेर कम विद्युत् खपत गर्ने पंखा र पानी तान्ने पम्प ल्याउन लागेको हो ।
प्राधिकरण आफैले पनि त्यस्ता पंखा वा पम्प विक्री गर्र्नेछ भने व्यावसायीलाई नै बढ्ता जिम्मेवार बनाउन उनीहरु आफैले पनि त्यस्ता उपकरण ल्याएर बिक्री वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।
ऊर्जा दक्षता कार्यक्रम अनुसार निजी व्यवसायीलाई पंखा तथा पानी तान्ने पम्प बिक्री वितरण गर्न प्रस्ताव आह्वान गरिएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
प्राधिकरणले पहिलो चरणमा पंखा र दोस्रो चरणमा पानी तान्ने पम्प ल्याएर बिक्री वितरण गर्न सक्ने जनाएको छ ।
आगामी चैत १६ गतेभित्र आर्थिक तथा प्राविधिक प्रतिवेदन प्राधिकरणमा बुझाउनु पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । प्राधिकरणले तयार पारेको मापदण्डका आधारमा त्यस्ता विद्युतीय उपकरण उत्पादन, बिक्री वितरण तथा मर्मत सम्भार समेत गर्नुपर्ने छ । त्यस्ता उपकरण कम्तीमा पनि ३ वर्षको बारेन्टी हुनुपर्नेछ ।
बढी विद्युत खपत गर्ने पंखा तथा पानी तान्ने पम्प प्रतिस्थापन गर्न सकेमा करिब २ सय मेगावाट विद्युत बचत गर्ने रणनीतिका साथ प्राधिकरणले यस्तो कार्यक्रम अगाडि सारेको हो ।