पाँचौं नुवाकोट महोत्सव सुरु




नुवाकोट । पाँचौं नुवाकोट महोत्सव बुधबारदेखि सुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा तथा ३ नं प्रदेश उपसभामुख राधिका तामाङले अबको पालो आर्थिक विकासको भएकाले महोत्सव त्यसका लागि सहयोगी हुने बताए ।

एघार दिनसम्म चल्ने महोत्सवमा ३ नंं प्रदेशस्तरीय अवलोकनकर्ता सहभागी गराएर जिल्लाको कृषि, पर्यटन, संस्कृति तथा धार्मिकस्थलको प्रवद्र्धन गर्न महोत्सव सार्थक हुने विश्वास लिएको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । महोत्सवमा राखिएका २ सय ७५ स्टलमा कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्री, त्रिशूलीको कान्छी बदम, शिखरबेसीको चामल, ककनीको ट्राउटमाछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रर्दशनी एवम् बिक्रीको व्यवस्था मिलाइएको छ ।

‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालनमा भएको महोत्सव नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउन केन्द्रित गराइने प्रचार–प्रसार समितिका संयोजक सन्तोष उप्रेतीले बताए । महोत्सवको एकलाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको छ ।

महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिकस्थलको प्रवद्र्धन गर्न गोरु जुधाइ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकोप्टर उडान लगायतका व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।


क्लिकमान्डु