प्राविधिक ज्ञानको कमीले च्याउखेती गर्न समस्या



ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् ।

किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए ।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने शर्माको भनाइ छ ।

‘जाली राख्न महँगो नभए पनि धेरै किसानलाई यसको ज्ञान छैन,’ उनले भने ।

जाली सबैतिर र सहज रुपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे थाहा छैन ।

काठमाडौं उपत्यकामा एकातिर धानखेती कम हुँदै गएको छ भने एर्कातिर च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ । किसानले परम्परागत रुपमा फलामको भाँडामा पराल पकाउँदा पर्याप्त उत्पादन लिनसकेका छैनन् । विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ ।

‘हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन । यसबाट  किसानले मनग्य आम्दानी लिनसक्छन्,’ शर्माले भने ।

च्याउको माग बढेसँगै व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानको संख्या बढिरहेको छ । केही वर्ष पहिलेसम्म गोलभेँडालगायत तरकारीखेती गरिरहेका किसानसमेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके च्याउखेती हुँदैआएको छ ।


क्लिकमान्डु