अर्थमन्त्री खतिवडाले भने : बढ्दो कर्जा ब्याजदरको समस्या समाधान गर्न पहल गर्छु



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग बैकिङ क्षेत्रमा देखिएको कर्जाको ब्याजदर महंगो भएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री खतिवडाले बैकिङ क्षेत्रको समस्या समाधानको लागि राष्ट्र बैंकसँगको सहकार्यमा अल्पकालिन र दीर्घकालिन उपाय अपनाइने बताए ।

अहिले बैंक तथा वित्तीय संस्थामा ऋण दिनको लागि चाहिने रकमको अभाव छ । ऋणको ब्याजदरमा १६ प्रतिशतभन्दा माथि पुगेको छ ।

महासंघ अध्यक्ष राणाले उद्योगी व्यवसायीलाई अहिले बैंकको ब्याजदरले सबैभन्दा बढी समस्या पारेको जानकारी नवनियुक्त अर्थमन्त्री खतिवडालाई गराएकी थिइन् ।

‘अर्थतन्त्रको बारेमा मन्त्रीज्यू आफै जानकार हुनुहुन्छ’ राणाले अर्थमन्त्रीसँग भेटपछि क्लिकमाण्डूसँग भनिन् ‘अहिलेको आर्थिक क्षेत्रको समस्याको बारेमा अवगत गरायौ।’

उनले अर्थमन्त्रीबाट बैकिङ क्षेत्रमा देखिएको तरलता समस्या र यसले सिर्जना गरेको कर्जाको ब्याजदर बृद्धिदरको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको बताइन् ।

महासंघको टोलीले कर्जाको ब्याजदर बाहेक राजस्व अनुसन्धानले व्यवसायीलाई छापा मारेर दिएको दुःखको विषयमा पनि अवगत गराएको थियो ।

यस्तै महासंघको टोलीले उद्योग स्थापना गर्न जग्गाको समस्या सबैभन्दा ठूलो रहेको भन्दै औद्योगिक क्षेत्रको विस्तार गर्न समेत माग गरेको थियो ।

यस्तै उद्योग वाणिज्य महासंघको टोलीले मंगलबार नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि भेट गरेर उद्योग तथा व्यवसायको क्षेत्रमा भएको समस्याको बारेमा अवगत गराएको छ ।


क्लिकमान्डु