तल्लो लिखु जलविद्युत आयोजनामा बैंकहरुले सवा ४ अर्ब रुपैयाँ लगानी गर्ने
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा जम्मा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्ने गरी आज कर्जा सुविधा सम्झौतामा हस्ताक्षर गरेको छ ।
सो आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरणवीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७३ साल पुस १४ गते भएको र सो आयोजना निर्माणको लागि विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत अर्थात ४ अर्ब १९ करोड रुपैयाँ र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् ।
उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले झण्डै १७०.८४ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुने कम्पनीले जनाएको छ ।