अर्थमन्त्री खतिवडालाई सेयर बजारको लालसलाम !



काठमाडौं । केही दिन यतादेखि नै डा. युवराज खतिवडा अर्थमन्त्री बन्दैछन् भनेर व्यापक चर्चा थियो । एमाले महासचिवको पनि अर्थमन्त्री बन्ने चर्चा थियो ।

तर, पोखरेललाई उछिन्दै डा. खतिवडा अर्थमन्त्री बन्न सफल भए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गृहजिल्ला झापाका खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन नेप्से ३६ अंकले बढेको थियो । तर, ओली प्रधानमन्त्री भएपछिका दिनमा लगातारजसो सेयर बजार घटिरहेको छ ।

सेयर बजारका लगानीकर्ताहरुले प्रधानमन्त्रीभन्दा बढी अर्थमन्त्री को हुँछ र उसले कस्तो नीति लिन्छ भनेर चासो राख्ने गरेको लगानीकर्ताहरु बताउँछन् ।

लगानीकर्ताहरुको यो भनाइलाई मात्रै आधार मानेर विश्लेषण गर्ने हो भने डा. खतिवडासँग लगानीकर्ताहरु डराएको भन्न सकिन्छ ।

एकातिर देशले आज अर्थमन्त्रीसहित अरु नयाँ मन्त्रीहरु पाएको अवसरमा खुसीयाली बनाइरहेको थियो । तर, सेयर बजारका लगानीकर्ताहरु भने केही डराएको देखिन्छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से इन्डेक्स) १५.७८ अंकले घटेको छ । ओली प्रधानमन्त्री भएको दिन बाहेक त्यसयता सेयर बजार लगातारजसो घटिरहेको छ ।

पूर्वगभर्नर समेत रहेका खतिवडाले सेयर बजार अर्थतन्त्रको वास्तविक ऐना नभएको भन्दै सार्वजानिकरुपमै टिक्का टिप्पणी गर्थे । आफ्नो गभर्नरको कार्यकालमा घरजग्गा र सेयर कर्जामा कडाइ गरेका थिए ।

त्यसैले सेयर बजारका लगानीकर्ताहरु खतिवडा अर्थमन्त्री बनेर आउँदैछन्् भनेर डराएको हुनसक्ने अनुमान गरिएको छ ।

लगानीकर्ताको गिरेको मनोवल बढाउनु नै नयाँ अर्थमन्त्री खतिवडाको चुनौति देखिन्छ । आगामी दिनमा सेयर बजार कता जान्छ भन्ने चाहीँ अब खतिवडाले दिने अभिव्यक्ति र लिने नीतिमा भर पर्छ ।


क्लिकमान्डु