ओली र देउवाको घर भएको बालकोट र बुढानिलकण्ठमा कतिमा पाइन्छ जग्गा ?




काठमाडौं । प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर भएका स्थानहरुमा जग्गाको मूल्य कति होलान् ? यो सबैको जिज्ञासाको कुरा हुन सक्ला ।

यही जान्नको लागि भनी हामी मालपोत कार्यालय पुग्यौँ । मालपोत कार्यालय चाबहीलका अनुसार देउवाको घर भएको ठाउँ बुढानिलकण्ठमा नारायणस्थान जाने मूल पिच सडकसँग जोडिएका जग्गाहरुको मूल्य प्रतिआना १३ लाख रुपैयाँ पर्छ । यो मूल्य सरकारी मूल्यांकनको हो ।

पिच भएका ठाउँको गल्ली भित्र रहेका जग्गाहरु भने प्रतिआना ७ लाख ७० हजार रुपैयाँ रहेको मालपोत कार्यलयले जानकारी दिएको छ । कच्ची सडक भएका जग्गाहरु ५ लाख ५० हजार रुपैयाँ प्रतिआना मूल्य तोकिएको छ । गोरेटो बाटो भएका जग्गा २ लाख २५ हजार रुपैयाँ प्रतिआना रहेको छ । नारायणस्थानका बाटो नभएका जग्गाहरु भने १ लाख रुपैयाँ प्रतिआना रहेको मालपोत कार्यालयले जानकारी दियो ।

तर, कारोबार रकम भने सरकारी मूल्यांकन भन्दा बढी छ । जग्गा किनबेच गर्ने एजेन्टहरुका अनुसार हाल बुढानिलकण्ठको मन्दिर वरिपरी भएको जग्गाहरु प्रतिआना १५ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँमा किनबेच हुने गरेको छ ।

बुढानिलकण्ठतिर पिच सडक भएका स्थानहरुमा जग्गको मूल्य प्रतिआना ३५ लाख देखि ४० लाख रुपैयाँ रहेको छ । पिचबाटो भएका गल्लीहरुतिर रहेका जग्गाहरुको मूल्य भने १५ देखि ३० लाख रुपैयाँ प्रतिआना रहेको पाइयो । यस्तै बाटो नै नगएका स्थाहरुमा भने ६ देखि ७ लाख रुपैयाँ प्रतिआनामा सो क्षेत्रको जग्गाको कारोबार भइरहेको छ ।

पानीको राम्रो सुविधा भएको र सडकको पनि पहुच भएको हुनाले यस स्थान वरिपरी कम्तिमा पनि १५ लाख रुपैयाँ प्रतिआनामा जग्गा विक्री गर्ने गरेको एक जग्गा कारोबारीले बताए ।

पछिल्लो समय केपी ओली प्रधानमन्त्री भएसँगै उनको घर भएको ठाउँ बालकोटतिर जग्गाको मूल्य ह्वात्तै बढेको छ । भक्तपुर जिल्लामा पर्ने बालकोटतिर पक्की मोटर बाटो भएका तथा दुइतर्फी बाटो भएका स्थानहरुमा जग्गाको मूल्य प्रतिआना ८ लाख रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म रहेको मालपोत कार्यालय च्यामासीले जानकारी दिएको छ । यो मूल्य पनि सरकारी मूल्यांकनको हो ।

प्लानिङको पक्की बाटो भएको स्थानहरुमा सो क्षेत्रको सरकारी मूल्यांकन अनुसार प्रतिआना ५ लाख ८० हजार रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म रहेको मालपोत कार्यलयले जानकारी दिएको छ ।

कच्ची मोटरबाटो भएको स्थानहरुमा प्रतिआना ३ लाख २० हजारदेखि ५ लाख २० हजार रुपैयाँ मूल्य तोकिएको छ । यस्तै गोरेटो बाटो जोडिएको स्थानहरुमा भने २ लाख ४० हजारदेखि ३ लाख रुपैयाँ प्रतिआना मूल्य तोकिएको छ । बाटो नै नभएका स्थानमा भने १ लाख १० हजारदेखि १ लाख २५ हजार रुपैयाँ प्रतिआना तोकिएको मालपोत कार्यलयले जानकारी दियो ।

ओली निवास वरिपरी पनि सरकारी मूल्यांकनभन्दा बढीमा जग्गाको कारोबार हुने गरेको पाइएको छ । जग्गाकारोबारीले हाल बालकोमा कौशलटारदेखि बिरुवासम्म रहेका जग्गाहरु प्रतिआना १५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्ममा खरिद विक्री गरिरहेका छन् ।

१३ फुटे बाटो बन्ने तर हाल बाटो नै नभएका जग्गाहरुसमेत प्रतिआना १० लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको जग्गा कारबारीले बताए ।

मालपोत कार्यलयका अनुसार सरकारी मूल्य र चल्तीको मूल्यमा आकाश पातालको फरक रहने र सरकारी कागजातमा एउटा मूल्य तोकिए पनि बजार मूल्य त्यसको ५० प्रतिशतभन्दा बढी हुने गरेको छ ।

किनबेचको मूल्य उच्चतम हुने गरेपनि मालपोतमा गरिएका बैधानिक कागजमा भने मालपोतकै मूल्य राखेर दर्ता गरिने गरेको मालपोत कार्यलयले जनाएको छ ।


क्लिकमान्डु