२ करोड लागतमा खोटाङमा किरात राई संग्रहालय बन्ने



काठमाडौं । खोटाङमा किरात राई संग्रहालय बन्ने भएको छ । किरात राई यायोक्खा रिब्जुङखोटाङले खोटाङको रिब्जुङमा ३ तले किरात राई संग्रहालय निमार्ण गर्न लागेको हो । हुन लागेको हो ।

लोप हुदैगएको किरात राई समुदायहरुको धर्म, संस्कार, संस्कृती, भेषभूषा, रीतिरिवाज, कला साहित्य र जीवन शैली झल्किने सामाग्रीहरु संग्रहित गर्ने उदेश्यले किरात राई संग्रहालयको निमार्ण गर्न लागिएको संग्रहालय निमार्णका सदस्य उदिम किरातीले बताए ।

किरातीले भने ‘किरात राई संग्रहालय निमार्णका लागि हालसम्म ११ लाख ५९ हजार रुपैयाँ बराबर जम्मा भैसकेको छ ।’ संग्रहालय निमार्ण समितिले संग्रहालय निमार्णका लागि भनी संस्कृती मन्त्रालयमा ६ महिना अघि नै सहयोगको मागसहित प्रतिवेदन बुझाएको भए पनि हालसम्म मन्त्रालयले त्यसमा कुनै चासो नदेखाएको किरातीले गुनासो पोखे ।

‘हामीले ६ महिना अघि नै ५० लाख रुपैयाँ निमार्ण सहयोगका लागि माग गरि निवेदन गरेका हौँ, तर अहिलेसम्म कसैले त्यसमा चासो देखाएनन्’ किरातीले क्लिकमाण्डुसँग भने ।

संग्रहालय निमार्णका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २ लाख रुपैयाँ, तत्कालिन रिब्जुङ महेश्वरी गाविसले १ लाख रुपैयाँ र रिब्जुङ जलेश्वरी गाविसले १० हजार रुपैयाँ नगद सहयोग गरेको किरातीले बताए ।

यस्तै वैदेशिक रोजगारका लागि गएका दाजुभाइ तथा दिदी बहिनीहरले पनि सो संग्रहालय निमार्णका लागि सहयोग सोरुप नगद पठाएका छन् ।

किरातीका अनुसार कोरियाबाट अमर राईको नेतृत्वमा २ लाख १ सय ६० रुपैयाँ, गणराज राईको नेतृत्वमा कुवेतबाट ५० हजार रुपैयाँ, दिपाल थुलुङको नेतृत्वमा दुबईबाट १ लाख १ हजार ७ सय ४० रुपैयाँ, किरात राई यायोक्खाको नेतृत्वमा मकाउबाट १ लाख ५३ हजार १ सय ६० रुपैयाँ र नेपालमै रहेका विभिन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले ३ लाख ४४ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग गरेका छन् ।

संग्रहालय निमार्णका लागि हालसम्म ११ लाख १२ हजार रुपैयाँ खर्च भैसकेको किरातीले बताए ।

संग्रहालय निमार्णका घडेरी, काठ तथा वालुवा किन्ने काम भैसकेको र निमार्णका लागि भवन डिजाइन बनाउने र छपाइ तथा ब्लुजरको काम पनि अघि बढी सकेको किरातीले बताए ।

यो वर्ष पहिलो तल्ला बनाउने काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको किरातीले बताए । पहिलो तल्ला निमार्णका लागि करिब ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । संग्रहालयको पूर्ण निमार्णका लागि करिब २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको किरातीले बताए ।


क्लिकमान्डु