पर्यटन बोर्डका तत्कालीन सिइ‌ओ निरौला भ्रष्टाचारी ठहर, सात वर्ष कैद तोकियो



काठमाडौँ । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, ८० लाख ५१ हजार ३६२ रुपैयाँ जरिवाना र बोर्डलाई ५४ लाख ५९ हजार ७०० रुपैयाँ बिगो तिराउने फैसला गरेको छ ।

त्यसैगरी दासलाई छ वर्ष कैद, ५० लाख २९ हजार ५४ हजार रुपैयाँ जरिवाना र बोर्डलाई २४ लाख ३७ हजार ४१५ रुपैयाँ बिगो तिराउने तथा खनाललाई एक लाख ५४ हजार २२४ रुपैयाँ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।


क्लिकमान्डु