शुक्रबारदेखि सि–आस्वा पूर्णरुपमा कार्यान्वयनमा आउने



काठमाडौं । सि–आस्बा शुक्रबारदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने भएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित, सर्वसुलभ र चुस्त बनाउनका लागि शुक्रबारदेखि सि–आस्वा कार्यान्वयनमा ल्याउन लागिएको नेप्सेका निर्देशक चन्द्रसिंह साउदले बताए ।

‘सि–आस्बाको प्रयोगसँगै धितोपत्रको प्राथमिक बजारमा नयाँ युगको सुरुवता भएको छ, झन्झटिलो फारम बोकेर घन्टौंसम्म लाईनमा खरिद आवेदन दिनुपर्ने युगको अन्त्य भएको छ,’ साउदले भने ।

सि–आस्बाको कार्यान्वयनले लगानीकर्ताले घरमै बसेर आबेदन दिने र हप्तादिनमै बांडफांड गरी लगानीको प्रतिफल तत्काल प्राप्त गर्ने वातावरण तयार भएको उनले बताए ।
६० वटा बैंक तथा वित्तीय संस्था सि–आस्बा प्रणालीमा आबद्ध छन् । १ लाख ३९ हजार ५ सय २ जना लगानीकर्ताले सि–आस्वाका लागि सिआरएन नम्बर प्राप्त गरिसकेको सिडिएस एण्ड क्लियरिङले जानकारी दिएको छ । सि–आस्बा प्रयोगकर्ताले घरमै बसेर सेवा लिनका लागि ‘मेरो सेयर’ सप्टवेयरको प्रयोग गर्नु पर्ने हुन्छ । मेरो सेयर सप्टवेयरमा १ लाख ४७ हजार ८ सय १० जना प्रयोगकर्ता रहेको सिडिएस एण्ड क्लियरिङले जानकारी दिएको छ ।

संचयकर्ताले आफ्नो खाता रहेको बैंकको कुनै पनि शाखाबाट सिआरएन नम्बर लिन सक्ने छन् । सिआरएन नम्बरका लागि बैंकमा उपलब्ध फारम भर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु