सात महिनामा ४३ अर्बको इन्धन आयात



पर्सा । चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख रुपैयाँ मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।

आव २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख रुपैयाँको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो ।

गत वर्षको तुलनामा चालू आवमा १० अर्ब १५ करोड ३२ लाख रुपैयाँ मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए।

भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा नौ अर्ब ५९ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु