डा. युवराज खतिवडासँग तर्सिएकै हो त सेयर बजार ?




काठमाडौं । ‘सेयर बजारको परिसुचकले मात्रै अर्थतन्त्रको वास्तविक अनुहार देखाउँदैन, सट्टेबाजहरुका कारण बढेको पुँजी बजार सुन्निएको अर्थतन्त्रको ऐना जस्तै हुन्छ ।’

यो डा. युवराज खतिवडाले राष्ट्र बैंकको गभर्नरको रुपमा ५ बर्ष रहदा बारम्बार दोहोर्याएको सार्बजनिक भनाइको अंश हो । घरजग्गा र सेयर बजारप्रति डा. खतिवडाको सार्बजनिक टिप्पणी र नीति कठोर भएको अनुभब यो क्षेत्रका लगानीकर्तासँग छ ।

केपी ओली प्रधानमन्त्री बनेको दिन ३६ अंकले बढेको नेप्से परिसुचक त्यसपछिका दिनमा लगातार दोहोरो अंक जस्तैले घटिरहेको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन उत्साहित बनेको पुँजी बजार फेरि किन घट्यो भन्ने प्रश्न उब्जनु स्वाभाविक नै हो ।

यसको मुख्य कारण पूर्वबर्ति देउवा सरकारको निर्णय उल्ट्याउदै डा. खतिवडालाई राष्ट्रियसभामा मनोनय गर्ने ओली सरकारको निर्णय हो भनेर मान्नेहरु पनि छन् । डा. खतिवडालाई राष्ट्रियसभा सदस्य बनाउने वित्तिकै उनलाई ‘भावी अर्थमन्त्री’का रुपमा बजारमा चर्चा गरियो ।

ओलीको ‘कोर टीम’मा अर्थतन्त्र राम्ररी बुझेको र संकटको बेलामा अर्थतन्त्रलाई सहज ढंगबाट अगाडि बढाउने ब्यक्ति डा. खतिवडा नै हुन भनेर मान्नेहरु पनि छन् । डा. खतिवडा बाम गठबन्धको चुनाबी घोषणापत्र तयार पार्ने र ओली सरकारको आर्थिक विकास र समृद्धिको मार्गचित्र तयार पार्ने ‘कोर टीम’का सदस्य हुन् । यसकारण डा. खतिवडालाई प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको नेतृत्व देलान् भनेर अनुमान गर्नु अन्यथा होइन ।

ओलीले प्रधानमन्त्रीमा नियुक्त हुनु अगाडि सम्पत्ति शुद्धीकरण निवारणको बिषयमा कानुन, राज्यले लिएको नीति र स्थापित अन्तराष्ट्रिय मान्यता विपरितको अभिब्यक्ति दिएका थिए । ओलीको निकट ब्यक्ति भए पनि डा. खतिवडा सम्पत्ति शुद्धीकरणको विषयमा ओलीको सो अभिब्यक्ति विपरित रहेर विगतमा काम गरेका छन् । डा. खतिवडा गभर्नर भएकै बेलामा ब्यवसायी अजेयराज सुमर्गीले विदेशबाट नेपाल ल्याएको पैसाको स्रोत नखुलेको भन्दै रोक्ने काम गरेका थिए भने स्रोत नमिलेको भन्दै एनसेलको लाभांश विदेश लैजान रोकेका थिए ।

तर, ओलीको पछिल्लो अभिब्यक्ति उनको सो कार्यको विपरित थियो ।

डा. खतिवडा गभर्नर भएकै बेलामा सेयर धितोमा पाइने मार्जिन लेन्डिङको सीमा तोकिएको थियो भने उनी अघिका गभर्नर विजयनाथ भट्टराईले कार्यान्वयनमा ल्याएको घरजग्गा क्षेत्रमा जाने बैंकिङ कर्जाको सीमा तोक्ने नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो । पूर्ववति गभर्नर भट्टराईको पालामा आएको घरजग्गा क्षेत्रमा कर्जाको सीमा तोक्ने कार्यलाई कतिपयले डा. खतिवडाकै कार्यकालमा आएको भनेर उल्लेख समेत गर्ने गरेका छन् ।

डा. खतिवडालाईलाई सेयर बजारप्रति नकारात्मक ब्यक्तिका रुपमा चर्चा गर्ने गरिन्छ । उनका सार्बजनिक अभिब्यक्तिले पनि त्यस्तै संकेत गर्ने गरेको थियो । डा. खतिवडालाई भाबी अर्थमन्त्री वा अर्थराज्यमन्त्रीका रुपमा चर्चा गरिएपछि सेयर बजार घटेको भनेर केही लगानीकर्ताले टिप्पणी गर्न थालेका छन् ।

खासमा भन्ने हो भने अहिले सेयर बजार घट्नै नै समय हो । सुचिकृत अधिकांश कम्पनीहरुले अघिल्लो बर्षको नाफाबाट दिने लाभांस दिइसकेका छन् । जसको कारण सेयर बजारमा बोनस सेयरको आपूर्ति बढेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउन जारी गरेको हकप्रद सेयरका कारण पनि बजारमा सेयरको आपूर्ति अत्याधिक बढेको छ ।

यही समयमा बैंकिङ क्षेत्र तरलता अभावको समस्यामा छ । तरलता अभाबको कारण बैंकहरुले दिने कर्जाको ब्याजदर १५ प्रतिपशतभन्दा बढी छ । सुचिकृत कम्पनीले दिने औसत बार्षिक प्रतिफल पनि त्यही १५ प्रतिशतको हाराहारीमा छ । कम्पनीको सेयरमा लगानी गर्दा कर्जाको ब्याज र कम्पनीले दिने प्रतिफल करिब उस्तै भएपछि बजारमा लगानीकर्ता निरुत्साहित हुन स्वाभाविक नै हो ।

बुधबार पुँजी बजार मापक नेप्से परिसुचक ९.६४ अंकले घटेर १३८७.०८ बिन्दुमा आइपुगेको छ भने सो दिन करिब २८ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।


क्लिकमान्डु