राजिनामा दिन प्रधानमन्त्री कार्यालयमा योजना आयोगका उपाध्यक्ष वाग्ले



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पदबाट राजिनामाको घोषणा गरेका छन् । वाग्ले राजिनामा पत्र बोकेर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

‘प्रधानमन्त्रीज्यूको समय मागेको छु, अघिदेखि राजिनामा पत्र बोकेर प्रधानमन्त्री कार्यालयमा छु, प्रधानमन्त्रीज्यूसँग भेट हुन पाएको छैन, अब केही समय पर्खिन्छु, भेट पाइँन भने कार्यालयमै राजिनामा पत्र दर्ता गराएर मात्रै फर्किन्छु,’ वाग्लेले क्लिकमाण्डूसँग भने ।

नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ आफूले राजिनामा दिएको उनले बताए । सरकारले नियुक्त गरेका पदहरुमध्ये प्रधानमन्त्रीले राजिनामा दिएसँगै योजना आयोगको उध्यक्ष र सदस्यहरुले पनि राजिनामा दिने कल्चर छ ।

वाग्लेले योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, संघीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्यांक संकलन, भूइँचालोजस्ता दैवीविपत्तिको प्रभाव मूल्यांकन, केन्द्रीय तथ्यांक विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले छ महिनामा उल्लेखनीय काम गरेको बताए ।

नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयंसेवा, दशवर्षीय विकासको मार्गचित्र, आर्थिक, सामाजिक एवं वातावरणीय उन्नयन, आर्थिक गणना, तथ्यांकमा आधारित नीति तर्जुमा, आधुनिक ऊर्जाको उपयोगजस्ता विषयमा आयोगले तयार पारेका योजनालाई सरकारी अभिलेखमा समावेश गरिएको जानकारी पनि उनले दिए ।


पुष्प दुलाल