चर्को शुल्कको विरोधमा आरआर क्याम्पसमा ताला बन्दी



काठमाडौं । राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पस (आर.आर)मा विद्यार्थीहरुले ताला बन्दी गरेका छन् । स्नातकोत्तर दोश्रो सेमेस्टर अध्ययनरत विद्यार्थीले चर्को शुल्क असुलेको बिरोधमा क्याम्पस प्रशासनमा ताला बन्दी गरेका हुन् ।

स्नातकोत्तर दोश्रो सेमेष्टर अग्रेंजी, अर्थशास्त्र, जनसंख्या र नेपाली बिषयमा अध्ययनरत विद्यार्थीले प्रशासनमा ताला बन्दी गरेका हुन् ।

उपत्यकाका त्रिवि आंगिक क्याम्पसमध्ये आर.आरमा सबै भन्दा धेरै शुल्क असुलिएको बिरोधमा ताला बन्दी गरिएको आन्दोलनको नेतृत्व गरिरहेकी लक्ष्मी भेटुवालले बताइन् ।

‘शुल्कको विषयमा क्याम्पस प्रशासनसँग २ पटक वार्ता भईसकेको छ, वार्तामा शुल्क घटाउने विषयमा प्रशासन मौन बसेकाले विरोध स्वरुप ताला बन्दीमा उत्र्न बाध्य हुनु परेको हो,’ भेटुवालले भनिन् ।

क्याम्पसले दोश्रो सेमेष्टर अंग्रेजीमा १३ हजार ५ सय रुपैयाँ, नेपालीमा १२ हजार ५ सय रुपैयाँ ,अर्थशास्त्रमा ११ हजार ५ सय रुपैयाँ विद्यार्थीबाट लिने गरेको छ ।

उपत्यकाका अन्य आंगिक क्याम्पसमा भन्दा आर.आर क्याम्पसमा महंगो शुल्क भएको विरोधमा आन्दोनमा उत्रिनु परेको विद्यार्थीको भनाई छ ।

त्रिवीकै पद्म कन्या क्याम्पसले ७ हजार ७५ रुपैयाँमा अंग्रेजी दोश्रो सेमेस्टर अध्ययन गराइरहेको पनि भेटुवालले जानकारी दिइन् ।

आन्दोलनकारीको नेतृत्व गरिरहेकी लक्ष्मी भेटुवालले अनधिकृत शुल्क असुली रोक्न स्ववियुले सहयोग नगरेको गुनासो गरिन् ।

विद्यार्थीको हक हितका लागि गठन भएको स्ववियुसँग सहयोगका लागि आग्रह गरेका थियौं, स्ववियु सभापति तपेन्द्र जंह शाहीले सहयोग गर्ने वचनको सट्टा आन्दोदनको सफलताका लागि शुभकामना दिएको उनी बताउँ छिन् ।

स्ववियुले विद्यार्थीलाई सहयोग गर्नुको सट्टा क्याम्पस प्रशासनसँग मिलेर आन्दोलनकारीलाई उल्टै असहयोग गर्न खोजेको उनीहरुको बुझाई छ ।


क्लिकमान्डु