वैदेशिक रोजगारको पहिलो गन्तब्य मलेसिया, जापान र इजरायल जानेको संख्या किन घट्यो ?



काठमाडौं । नेपाली युवाको वैदेशिक रोजगारीको लागि सबैभन्दा राम्रो गन्तब्य मलेसिया देखिएको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा १ लाख ८६ हजार ५३ जना बैदेशिक रोजगारीमा गएको तथ्यांक बैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको छ ।

बिभागका अनुसार मलेसिया नेपालीहरुको प्रमुख गन्तब्य रहेको छ । जहाँ ६ महिनामा ५९ हजार २८८ जना रोजगारीको लागि गएका छन् । यो समग्रमा ३१.९ प्रतिशत हो ।

अघिल्लो बर्ष यही अबधीमा कतार सबैभन्दा बढी ३३.१ प्रतिशत गएका थिए । यस बर्ष कतार दोस्रो स्थानमा झरेको छ । जहाँ यो ६ महिनामा ४८ हजार ९५७ जना गएका छन् ।

गत बर्ष ६२ हजार ७७६ सहित कतार पहिलो स्थानमा थियो । पछिल्ला दिनमा कतारमाथि अन्य खाडी मुलुकहरुले गरेको नाकाबन्दीको असर नेपाली कामदारको मागमा समेत परेको छ ।

गत बर्षको पुस मसान्तमा दोस्रो रोजाईमा रहेको साउदी अरब यस पटक ४ स्थानमा झरेको छ । गत बर्षको ६ महिनामा ४४ हजार ४८१ कामदारको रोजाईमा परेको साउदी अरब चालु बर्षको ६ महिनामा २३ हजार २८६ जनामात्रै गएका छन् ।

दुबई जानेहरुको संख्या भने केही वृद्धि भएको छ । ३० हजार ७५८ जना यो ६ महिनामा दुबई गएका छन् ।

यी खाडी मुलुकको अलावा कुबेत, दक्षिण कोरिया, बहराइन, ओमान, अफगानिस्तानलगायत देशहरुमा जानेहरुको संख्यामा वृद्धि भएको छ । यस्तै जापान, इजरायल, लेबनानलगायत देशमा जाने कामदारको संख्यामा कमी आएको छ ।

समग्रमा अघिल्लो बर्षको ६ महिनाको तुलनामा यस बर्षको ६ महिनामा १.८ प्रतिशतले कामदार जान कम भएको हो ।

त्यसको असर रेमिट्यान्स आयातमा समेत परेको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाहसमेत ०.५ प्रतिशतले घटी ३४० अर्ब ५४ करोडमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु