नेपालका यी ७ ताल जहाँ समुन्द्रको मज्जा लिन सकिन्छ, तपाई पुग्नु भयो ?



काठमाडौं । नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रुपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरु रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रमा प्राकृतिकरुपमा धेरै सम्पदाहरु रहेका छन् ।

सवै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने बार्षिक लाखौ पर्यटक भित्र्याएर अर्बौ विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपालमा केही हिमाली क्षेत्र र चितवन र पोखरा बाहेक क्षेत्रलाई प्रर्वद्धन गर्न सकिएको छैन ।

नेपालको पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्र मध्ये एक हो ताल पर्यटन । नेपालमा अहिलेसम्म पनि कति ताल छन् भन्ने अध्ययन हुन सकेको छैन ।

ताललाई पर्यटन संग जोड्ने हो भने तालको संरक्षण र विकास पनि हुने दावी सरोकारवालाहरुले गरेका छन् । त्यस मध्ये नेपालमा सौन्दर्यले भरिपूर्ण तालको संख्या धेरै छ । कति त प्रचारप्रसार नभएरै लोप भैसकेका छन् भने, भएका जति केहि तालहरु संरक्षणको अभावमा दूषित वा लोप हुने अवस्थामा छन् ।

नेपालको भौगोलिक नक्सा अनुसार नेपालमा ५ हजार ३ सय ५८ ताल छन् । तर यसको संरक्षण र प्रवद्र्धन हुन नसक्दा अहिले ६० प्रतिशत ताल लोभ भैसकेको राष्ट्रिय ताल संरक्षण विकास समितिका अध्यक्ष नानीकाजी थापा बताउँछन् ।

विश्वका धेरै मानिसहरुले समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन् । नेपाल भूपरिवष्ठित देश भएकाले पनि नेपालमा सिमित ताल नै पर्यटकीय गन्तव्य हुन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन जहाँ पुग्ने लालचा विश्वका पर्यटकलाई हुने गरेको छ । नेपालका १० वटा तालहरु रामसार क्षेत्रमा सुचिकृत समेत भएको छ ।

रामसार क्षेत्रमा कोशी टपु ताल, पोखरा क्षेत्रका ९ वटा, घोडाघडी ताल, बिसहजारी ताल, गोसाइकुन्ड, शे–फोक्सुन्डो, रारा, तिलिचो, पाँचपोखरी तथा छो रोल्पा ताल रहेका छन् ।

रारा ताल
पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको आर्कषर्ण केन्द्र रारा ताल हुने गरेको छ । विगतमा सडक यातायातमा नाजोडिएका कारण जान समस्या भएपनि पछिल्लो समय भने सहज हुदैं गएको छ । । नेपालमा भएका मध्ये सबैभन्दा ठूलो ताल हो यो । सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा तालको सुन्दरताले जोकोहीलाई मोहित तुल्याउँछ ।

समुन्द्री सतह भन्दा २९९० मिटर (९८१० फिट) को उचाइमा रहेको यस ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्र भित्र पर्दछ । ५.१ किलोमिटरको लम्बाई तथा २.७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १.८ वर्ग किलोमिटर र १६७ मिटरको गहिराइ रहेको छ । रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो ।

तिलिचो ताल
नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ताल हो । समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ ।

४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर (२८७९ फिट) गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ । यसको प्रमुख विशेषता भनेको यहाँ कुनै पनि जलचर प्राणी छैनन् । यो तालको वरपर देखिने पहाडको दृष्यले सौन्दर्यता थपिएको छ ।

से-फोक्सुन्डो ताल
डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा छ । करिब ४.९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस तालको लम्बाई ५.१५ किलोमिटर तथा चौडाई ८०० मिटर रहेको छ ।

यस ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो । नेपालको सबैभन्दा गहिरो ताल हो यो । यसको गहिराई १४५ मिटर (४७६ फिट) रहेको छ ।

गोसाइँकुण्ड
समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ । यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ ।

छो रोल्पा

दोलखा जिल्लामा रहेको छो रोल्पा ताल ४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छ । १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ । २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ ।

फेवा ताल
समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाईमा अवस्थित यस तालको बीचमा ताल बाराही मन्दिरले यस तालको झन सुन्दरता बढाएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ । पोखरामा अवस्थित फेवा सबै भन्दा धेरैले अवलोकन गर्ने तालको रुपमा पर्दछ । पोखरा क्षेत्रमा ९ वटा तालहरु रहेका छन् ।

पाँच पोखरी
लाङटाङ राष्ट्रिय निुकुञ्जमा पर्ने यहाँ पाँच तालहरु एकै ठाँउमा रहेका छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ ।

यस तालमा जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य राम्रोसँग देख्न सकिन्छ ।

त्यस्तैगरी बझांग को सुर्मा सरोवर , खप्तडको ताल, बाजुराको बुढीनन्दा र छेडे दह र रुकुमको बाह्रकुने ताल कैलालीको घोडाघोडी ताल पनि चर्चित तालहरुमा पर्दछन् ।


क्लिकमान्डु