माछापालनमा किसानको आकर्षण बढ्दै, माछाका भुरा उत्पादनबाटै लाखौं अाम्दानी



भीमदत्तनगर । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए । उनले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताए ।

“पहिले किसान प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेका थिए,” मत्स्य अधिकृत चन्दले भने, “सरकारको अनुदानका कारण माछापालनमा किसानको आकर्षण बढ्न थालेको छ ।”

जिल्लामा साना र ठूला गरी प्राकृतिक र कृतिम गरी करिब ७०० भन्दा बढी तालमा यहाँ माछापालन गरिँदैआएको छ । कृत्रिमभन्दा पनि ३० बिघासम्मका प्राकृतिक तालमा किसानले समूह बनाएर माछापालन गरिरहेका छन् भने कृत्रिम ताल बनाएर पनि उनीहरु माछापालन गर्दैआएका छन् ।

जिल्लामा २८५ हेक्टरमा माछापालन भइरहेको बताउँदै मत्स्य अधिकृत चन्दले चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा माछापालनका लागि जलाशय निर्माण गर्न ९० लाख रुपैयाँ रकम आएको बताए ।

“तीस हेक्टरमा जलाशय बनाउन अनुदान आएको छ,” उनले भने, “किसान छनोट गर्ने प्रक्रिया चलिरहेको छ ।”

उनले प्रतिहेक्टर जलाशय निर्माणका लागि किसानलाई तीन लाख रुपैयाँका दरले अनुदान दिइने जानकारी दिए।

यहाँ करिब आठ/नौ जातका माछा किसानले पालिरहेका छन् । हरेक वर्ष जलाशय निर्माणका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

उत्पादित माछाका लागि बजारको कुनै समस्या नरहेको उनले बताए ।

“बजार क्षेत्रमा अझै भारतीय माछा बिक्रीका लागि ल्याउने गरिएको छ,” उनले भने ।

किसानले माछापालनबाट मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय बेलौरी नगरपालिका–५ मा माछापालन फस्टाउँदै गएको छ । गाउँका ८० किसान एकताबद्ध भएर सोभातालमा व्यावसायिक माछापालन गर्न थालेका छन् ।

करिब आठ हेक्टरमा रहेको प्राकृतिक तलाउलाई व्यवस्थित गरेर सोभाताल मुक्त कमैया शिविरका किसानले व्यावसायिक माछापालन गरिरहेका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि गतवर्षदेखि व्यवस्थित रुपमा थालिएको माछापालनमा आबद्ध कृपाराम चौधरीले बताए ।

“पोखरीको डिल बनाउन र पानीका लागि मोटर र बोरिङको लागि दातृ निकायले सहयोग गरेपछि माछापालन गर्न थालेका हौँ,” चौधरीले भने, “विगत वर्षमा वार्षिक रु तीन लाखसम्म कमाइ भएको थियो ।”

बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन गर्दैआएका छन् । स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेको समूहका कोषाध्यक्ष सावित्रा रावलले बताए ।

त्यहाँ डेढ बिघा जमिनमा माछापालन गरिएको छ ।

बेदकोट नगरपालिका–७ गाउजीका राजीव शर्मा लेखकले तीन करोड रुपैयाँको लगानीमा व्यावसायिक माछापालन गरिरहेका छन् । करिब १० बिघा जमिनमा उनले पोखरी निर्माण गरी विगत दुई वर्षदेखि माछापालन गर्दैआएका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका लेखकले लामो समय काठमाडौँमा जागिरपछि केही वर्षयता कञ्चनपुरमा आएर कृषि पेशामा लागेका हुन्।

बेदकोट नगरपालिका–६ का हरिराम चौधरी पनि विगत अढाइ दशकदेखि माछापालन व्यवसायमा हुनुहुन्छ । उनले करिब १२ बिघामा माछा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । माछा उत्पादनबाट वार्षिक आठ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको चौधरी बताउँछन्। जलाशय निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराएको उनको भनाइ छ ।

भुरा बेचेरै वार्षिक आठ लाख आम्दानी

विसं २०५६ देखि कञ्चनपुरमा पहिलो पटक माछाका भुरा उत्पादन गर्दै आएका शुक्लाफाँटा नगरपालिका–१ का पल्टु चौधरी वार्षिक भुरा बिक्रीबाट मात्रै आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालनमा ल्याएका चौधरीकहाँ प्रदेश नं ७ का सबै जिल्ला तथा बर्दियाबाट समेत किसान भुरा खरिदका लागि आउने गरेका छन् । उनले माछापालन २०५० सालदेखि नै थालेका हुन् ।


क्लिकमाण्डू