गाउँपालिकामा जान बैंक तथा वित्तीय संस्थाले टेरेनन्
काठमाडौं । सरकारले गाँउपालिकामा बैंक तथा वित्तीय संस्थालाई आफ्ना कार्यालय स्थापना गर्न निर्देशन गरेपनि उनीहरुले अटेर गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाको अटेरीका कारण देशका विभिन्न स्थानका सेवाग्राही मारमा परेका छन् ।
यस्तै भएको छ डडेल्धुरामा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन ।
पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।
उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत जिल्ला सदरमुकाम जानु पर्दा चेकमा भएको रकमभन्दा बढी दैनिक खर्च हुने गरेको भागेश्वर गाउँपालिका रुपालका सर्वसाधारणको भनाइ छ । सामान्य चेकका लागि पनि सदरमुकाम जाँदा उपभोक्ताले पाउनुपर्ने रकमभन्दा पनि बढी खर्च आउने गरेको स्थानीयवासी लोकराज भट्टले बताए ।
उपभोक्ताको कामदेखि कार्यालयको भुक्तानीका लागिसमेत जिल्लामा जानु पर्दा धेरै असहज भएको भगेश्वर गाउँपालिका अध्यक्ष कोशिलाकुमारी भट्टले बताइन् ।
बैंक नहँुदा गाउँपालिकाको एकजना कर्मचारीलाई थोरै रकमको चेक साट्न सदरमुकाम लगाउँदा काममा समेत बाधा भएको छ ।
भागेश्वर गाउँपालिका जस्तै अजयमेरु गाउँपालिका, नवदुर्गा, आलिताल र गन्यापधुरामा समेत बंैक स्थापना हुन सकेको छैन । आवश्यक पूर्वाधार नहँुदा बंैक राख्न कठिनाइ भए तापनि काम र भुक्तानी छिटोछरितो गराउनका लागि चाँडै पहल गरी स्थापना गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए ।
नवदुर्गा गाउँपालिका पुग्न वडा नं ५ वाट त्यसै पनि ५ घण्टा लाग्ने भएकले एक दिन गाउँपालिकाबाट भुक्तनी लिन लाग्छ भने दुई दिन सदरमुकाममा चेक साट्न नवदुर्गाका निर्माण व्यवसायी टेकबहादुर साउदले जानकारी दिए ।
जनतालाई सुविधा दिलाउनका लागि स्थानीय निकाय गठन भए तापनि धेरै जसो कामकाज गर्न भने असहज भएको निर्माण व्यवसायी बताए ।
स्थानिय निकायमा बैंकहरु समयमा स्थापना नहुँदा थोरै रकमका योजनाको भुक्तानी लिन कठिनाइ भएको सर्वसाधारण बताउँछन् ।