मनाङ जाने सडकमा आजदेखि चार दिन सवारी बन्द, म्यादी खोलामा पुल निर्माण हुँदै



मनाङ । मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो ।

साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहुँदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका सह– इन्चार्ज नारायण लामाले बताए। विसं २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोर दोहर गरिरहेका छन् ।

गत जेठमा सडक डिभिजनसँग दुई करोड पाँच लाख १७ हजार ८६९ रुपैयाँमा सम्झौता गरी यही पुसबाट काम शुरु भएको हो । मनाङको सडकमा तिमाङ खोला र पिसाङ खोलामा पनि पुल निर्माणको सम्झौता भएको छ । तिमाङ खोला र पिसाङ खोलामा बढी चिसोका कारण काम गर्न कठिन भएकाले हाल काम रोकिएको छ ।

यस म्यादी खोलाको पुल निर्माणको आगामी २०७५ साल जेठ सम्ममा सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तसम्म सब काम सक्ने लक्ष्य रहेको र चार दिनपछि पुन सवारी आवत जावत सञ्चालन हुने सहइन्चार्ज लामाले बताएका छन् ।


क्लिकमान्डु