संघीयता कार्यान्वयनमा पनि विदेशीकै भरः जीडीपीको २५ प्रतिशत विदेशी ऋण



काठमाडौ । मुलुक संघीयतामा गइसके पनि आर्थिक रुपमा यसको व्यवस्थापन भने ठूलो चुनौती हुने देखिएको छ । सरकारको हालको वार्षिक खर्च १ हजार २७८ अर्ब रहेको छ । जसमा ७३० अर्ब रुपैयाँ आन्तरिक स्रोत तथा बाँकी वैदेशिक ऋण तथा दाताबाट जुटाउनु परिरहेको छ ।

संघीयता कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा देशमा आर्थिक संकट आउने हो कि भनी आशंका बढीरहेको बेला त्यसको कार्यान्वयनमा आउने समस्याका बारेमा कुनै चासो नाखिएको भन्दै चिन्ता बढ्न थालेको छ ।

अर्थविदले संघ, प्रदेश तथा स्थानीय निकायको बढोत्तरीकै कारण आर्थिकरुपमा समस्या आउने देखिएकाले त्यसको उचित निरुपण गर्नुपर्ने देखिएको छ ।

एकात्मक राज्यको अन्त्यपछि संघीयताको कार्यान्वयनमा जाँदा सिंहदरबारको ६० प्रतिशत जिम्मेवारी स्थानीय तहमा गएका नेपाल सरकारको आधा खर्च स्थानीय तहमा जाने भएकाले केही चुनौती देखिएको छ । त्यो चुनौती भनेको खर्च प्रणालीमा पारदर्शिता नै होे ।

दुई सातापछि विधिवतरुपमा संघीय सरकार बन्ने अवस्थामा देश पुगिसकेको छ । संघीय सरकारमा गइसकेको अवस्थामा धेरै खर्च लाग्छ भन्ने बहस चलिरहेको बेला यो खर्च कसरी जुटाउने भन्ने जिज्ञाशा पनि रहेको छ ।

प्रदेश तहमा ५५० तथा स्थानीय तहमा ३५ हजार निर्वाचित प्रतिनिधि आइसकेको अवस्थामा आर्थिक भार बढ्ने देखिएको छ । त्यहाँ ५३ हजार कर्मचारी स्थानीय तहका लागि र १५ हजार प्रदेश तहका लागि आवश्यक छ । स्थानीय तहमा जान नचाहने २३ हजार कर्मचारीलाई भिआरसीमार्फत स्वेच्छिक अवकाश दिइने तयारी गरेको छ ।

संघीयतासम्बन्धी विज्ञ खिमलाल देवकोटाले संघीयताले जुम्लाका मानिसलाई काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गरेको, सिंहदरबारको ६० प्रतिशत काम जुम्लामा नै सम्पन्न हुने भएकाले आर्थिकरुपमा केही समस्या नआउने तर यो व्यवस्थापनको मात्र चुनौती रहेको बताए ।
उनले देशको कर प्रशासनलाई चुस्त र दुरुस्त गर्न सक्यौँ भने हालको ७३० अर्ब रुपैयाँलाई दोब्बर गर्न सकिने तर्क गरे ।

एकात्मक शासनको बेला स्थानीय इकाइको व्यवस्था कानूनमा मात्र सीमित भएकाले प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले अव स्थानीय तहलाई संविधानको अंग नै बनिसकेकाले बजेट, कर्मचारी तथा कार्यालय तल जानुको विकल्प नरहेको बताए ।

अब संघीयताको कार्यान्वयनका लागि देशको वार्षिक बजेट १७ खर्बको हुने ८ खर्ब स्थानीय तहमा जाने उनी बताउँछन् ।

अर्थविद् डा. गोविन्द नेपालले संघीयता कार्यान्वयनका लागि स्रोत र साधनको चुनौती रहेपनि यो चुनौतीको सामना गरी अघि बढ्नुको बिकल्प नभएको बताउँछन् । नेपालको वार्षिक बजेट १२ खर्ब रहेको र ७२ अर्ब वैदेशिक ऋण रहेको जानकारी दिए ।

विसं २०१० देखि हालसम्म विदेशी सहायता वार्षिक १ खर्ब औषत प्राप्त भएको जानकारी दिँदै नेपालको हाल ६ खर्ब रुपैयाँ ऋण रहेको उल्लेख गरे । नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत विदेशी ऋण रहेकाले संघीयताको कार्यान्वयनको चरणमा अझै विदेशी सहायताको अंश बढ्न सक्ने आशंका व्यक्त गरे ।

कूटनीतिज्ञ तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालमा निर्वाचित स्थानीय तहका प्रतिनिधि भर्खर गाउँ जाँदै छन् । तर गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था धेरै पहिले नै गाउँगाउँ गइसकेको धारणा व्यक्त गरे ।

स्थानीय तहका प्रतिनिधि राजनीतिक इकाइमा मात्र सीमित नरही आर्थिक गतिविधिको इकाइ भएकाले संघीयताको कार्यान्वयन गर्दा आर्थिक समस्या नआउने उनको भनाइ छ ।


पुष्प दुलाल