फागून १ देखि मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट, २३ प्रकारका नम्बर प्लेट ५ मा झारिने



काठमाडौं । सरकारले अब मोटरसाइकलमा पनि नयाँ प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले चारपांग्रे सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट २ महिना अघिदेखि राख्न सुरु गरेको थियो ।

आगामी फागनु १ गतेदेखि विभागले मोटरसाइकलमा समेत इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको हो । हाल अनिवार्य नगरेता पनि राख्न चाहने उपभोक्ताले फागुन १ गते देखि मोटरसाइकलमा समेत इम्बोस्ड नम्बर प्लेट जडान गर्न पाउने भएका छन् ।

नेपालमा हाल १७ लाख भन्दाबढी मोटरसाइकल प्रयोगकर्ताहरु रहेका छन् । मोटरसाइकल प्रयोगकर्ताले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । अनलाइन इम्बोस्डको लागि आवेदन दिनुपर्ने हुन्छ ।

पहिलो चरणमा सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको थियो । अहिले निजी सवारीमा समेत इम्बोस्ड नम्बर प्लेट जडान पनि सुरु भइसकेको छ ।

मिनभवनमा रहेको विभागको कार्यालयबाट मेसिन र उपकरण जोडेर इम्बोस्ड प्लेट छाप्ने काम गरिएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नम्बर प्लेट राख्ने विभागको योजना छ ।

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । ठूला चारपांग्रे सवारी साधन लागि तीन हजार ६ सय रुपैयाँ, मझौला चारपांग्रे सवारीका लागि तीन हजार दुई सय रुपैयाँ, ट्याम्पो, रिक्सा लगायत तीनपांग्रे सवारी साधनका लागि दुई हजार ९ सय रुपैयाँ र मोटरसाइकल लगायतका लागि दुई हजार पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ । इम्बोस्ड नम्बर प्लेटको आयु १० वर्षको हुने व्यवस्था रहेको छ ।

पाँच स्थानबाट निगरानी

इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नम्बर प्लेट भएका सवारी साधन कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न काठमाडौं उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच ठाउँमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गर्ने तयारी विभागले गरेको छ ।

काठमाडौं उपत्यकाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा काठमाडौं बाहिर मुख्य सडकमा ५ वटा केन्द्र राखिनेछ । केन्द्रबाट समेत इम्बोस्ड नम्बर प्लेट भएका सवारी साधन कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । विद्युतीय नम्बर प्लेट राखेको सवारी साधन दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ ।

२३ प्रकारका नम्बर प्लेट ५ मा झार्ने लक्ष्य

अहिले भैरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सीमित गर्ने व्यवस्था गर्ने विभागको तयारी छ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, कुटनीतिक, व्यावसायिक र निजी गरी पाँच प्रकारका हुनेछन् ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी साधन चोरी हुने, कर छली र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागको भनाई छ । इम्बोस्ड प्लेटमा विशेष प्रकारको चिप्सको प्रयोग गरिएकाले स्क्यानिङ गरेर कर तिरे नतिरेको थाहा हुनेछ ।


पुष्प दुलाल