गुल्मीमा भीषण आगलागी, ५० बढी घरगोठ उच्च जोखिममा
काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
बिहीबारदेखि मुसिकोट नगरपालिका-६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय त्रसित बनेका छन् ।
आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्रलगायत स्थानीयको सहयोग मागिरहेका छन् । आगो निभाउनका लागि यतिबेला नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ ।
जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताए ।
आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताइएको छ । आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारण आगो गाउँनजिकै पुग्ने खतरा देखिएको अर्यालले जानकारी दिए ।
गाउँमाथिबाट आगो तलतल सर्ने क्रम शुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए । आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा परेको बताइएको छ ।