अब कालिमाटीका सबै पसलमा तरकारीको मूल्य एउटै



काठमाडौं । अब कालिमाटीका सबै पसलका तरकारी तथा फलफूलको मूल्य एउटै हुने भएको छ । कृषि मन्त्रालयका सह–सचिव काशीराज दाहालले कालिमाटीका सबै पसलका तराकारी तथा फलफूलको मूल्य समान बनाउने बताएका हुन् ।

‘कालीमाटीका सबै थोक तथा खुद्रा पसल तरकारी तथा फलफूलको मूल्य एउटै हुन्छ, त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण काम गर्नका लागि मन्त्रालय प्रतिबद्ध छ,’ बिहीबार कालिमाटी फलफूल तथा तरकारी बजार समितिको २४ औं बार्षिक उत्सवमा दाहालले भने ।

उनले आफ्नो कार्यकालमा नै कालिमाटीको थोक तथा खुद्रा बजारको मूल्य निधारण गर्ने प्रतिवद्धता गरेका छन् । चोभारमा बन्न लागेको फलफूल तथा पुष्प बजारलाई चाँडो पूर्णता दिने र बजारमा रहेको मूल्यको विविकिकरणलाई सार्थकता दिने गरी आफुले कदम चाल्ने बताए ।

कालिमाटी बजारमा ठूलो समस्या भनेको मूल्य निधारण छ । बजारका फरक स्टलमा फरक मूल्य निर्धारण हुने गरेको छ । जसले गर्दा सर्वसाधरणहरु तरकारी तथा फलफूल खरिद गर्दा बढी मूल्य तिर्न बाध्य हुने गरेका छन् ।

कालिमाटीको थोक पसलमा सर्लाहीबाट आएका गोलभेडा २० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । उता खुद्रा बजारमा भने त्यही गोलभेडको मूल्य २५ देखि ४० रुपैयाँ प्रतिकेजीसम्म विक्री भैरहेको छ ।

कालिमाटीमा थोक पसल संचालन गरिरहेका कृष्णप्रसाद पौडेलले सबैले एकै ठाउँबाट गोलभेडा ल्याएको भए पनि किसानसँग किन्ने मूल्य र ढुवानी मूल्य फरक पर्ने भएकाले बजारमा गोलभेडाको मूल्य फरक हुन पुगेको बताउँछन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा मूल्यको विविधताका साथै तरकारीमा पाइने विषादी पनि अर्को समस्या रहेको व्यावसायीहरु बताउँछन् ।

व्यवसायी रामकुमार रुपाखेपी विषादी प्रयोग गरिएका तरकारीका कारण पनि तरकारीको मूल्य महँगो पर्न जाने बताउँछन् ।

तरकारीको विषादी परिक्षण गर्नका लागि २ देखि ४ दिनसम्म लाग्ने गरेको छ । ४ दिनसम्म तरकारी परिक्षणका लागि राख्दा धेरै मात्रामा बिग्रेर फाल्नुपर्ने हुन्छ ।

‘किसानसँग खरिद गरिएको तरकारीमा बिषादी भेटिएमा त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ, नोक्सानी पूर्ती लागि स्वस्थकर तरकारीको मूल्य बढाएर बेच्नु पर्ने हुन्छ,’ रुपाखेतीले भने ।

कालिमाटी तरकारी बजारमा ढुवानीका लागि काम गर्दै आएका राम श्रेष्ठ तरकारी नुवाकोटबाट ढुवानी गर्दा प्रतिकेजी २ रुपैयाँ मात्र मूल्य पर्ने बताउछन् ।

फलफूल तथा तरकारी बजार समितिका उप–निर्देशक विनय श्रेष्ठले चालु आर्थिक वर्षमा कालिमाटी बजारले ३ करोड ३४ लाख ६० हजार रुपैयाँको आम्दानी गरेको जानकारी दिए ।

कालिमाटी बजारमा दैनिक ३ करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने गरेको पनि उनले जानकारी दिए ।


क्लिकमान्डु