आइडिया भएकोले पुँजीको चिन्ता गर्नु नपर्ने, फागुन ४ र ५ गते काठमाडौंमा ‘स्टार्ट अप मेला’



काठमाडौं । तपाईंसँग बिजनेशको नयाँ आइडिया छ । तर, लगानी जुटाउन सकिरहनु भएको छैन भने चिन्ता नगर्नुस् । तपाईंलाई आफ्नो त्यो आइडियामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुबाट लगानी भित्र्याउन सक्ने अवसर आएको छ ।

तपाईंको उद्यमशील, क्रियटिभ आइडियामा लगानी जुटोस् भन्ने उद्देश्यले काठमाडौंमा ‘स्टार्ट अप मेला–२०१८’ हुने भएको छ । उक्त मेलामा सहमागी भएर तपाईंले नयाँ नयाँ बिजनेश आइडिया मात्रै हेर्न सक्नुहुन्न, तपाईंसँग त्यस्तो आइडिया छ भने स्वदेशी तथा विदेशी लगानीकर्ताबाट लगानीसमेत भित्र्याउन सक्नुहुने छ ।

आभा समूहले तपाईलाई यो अवसर उपलब्ध गराउँदै छ । आभा समूहको अगुवाईमा काठमाडौंको सोल्टी मोडस्थित प्लाटिनियम होटलमा फागुन ४ र ५ गते मेलाको आयोजना हुने भएको हो ।

उक्त मेलामा युरोप र भारतलगायत १० भन्दा बढी देशका मोटिभेसनल स्पिकर तथा लगानीकर्ताहरु सहभागी हुनेछन् ।

कसरी व्यवसाय छनोट गर्ने ? जोखिम न्यूनिकरणका लागि के गर्ने ? कसरी लगानी जुटाउने ? लगायतका विषयमा मेलामा जानकारी दिइने छ ।

तपाईंलाई पनि मेलामा सहभागी हुने इच्छा अनलाईन फर्म भरेर पठाउनु पर्ने हुन्छ । मेलामा सहभागी हुन १५०० शुल्क तिर्नुपर्ने हुन्छ ।

खासगरी युवाहरुमा उद्यमशीलताको विकास होस् भन्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आभा ग्रुपका नेपाल प्रमुख थानेश्वर गौतमले जानकारी दिए ।

‘नेपाली युवाहरुमा सिर्जनशीलता र उद्यमशीलताको विकास होस् । र, त्यस्तो चाहने युवाहरुले पुँजी, नयाँ प्रविधि तथा आइडिया पाउन् भन्ने उदेश्यले हामीले मेलाको आयोजना गर्न लागेका हौं,’ गौतमले क्लिकमाण्डूसँग भने ।

‘टुगेदर वी क्यान’ भन्ने मुल नाराका साथ स्थापना भएको आभा ग्रुपले क्षेत्रीयस्तरमा यस्ता मेलाहरुको आयोजना गरेपनि राष्ट्रियस्तरमा भने पहिलोपटक मेलाको आयोजना गर्न लागेको हो । मेलामा हजारौंको सहभागीता रहने आयोजनको विश्वास छ ।


पुष्प दुलाल