बीमा एकेडेमी स्थापना गरिने, यसै बर्ष स्थापना हुदैछ १ करोडको तालिम कोष




काठमाडौं । बीमाको बारेमा चेतना र दायरा बढाउन बीमा सम्बन्धी अध्ययन अध्यापन गराउने एकेडेमी स्थापना गरिने भएको छ । सुरुमा एक करोड रुपैयाँ बराबरको कोष स्थापना गरेर एकेडेमी नै संचालन गर्ने गृहकार्य थालिएको हो ।

बीमा एकेडेमी स्थापनाको लागि आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको समितिका अध्यक्ष चिरन्जीबी चापागाईले जानकारी दिए । समितिले चालु आर्थिक बर्ष तालिम समिति बनाएर काम गर्ने र सो समितिलाई कम्पनीमा रुपान्तरण गर्दै एकेडेमीको स्वरुपमा ढाल्ने गरी काम अगाडि बढाइएको हो ।

यसको लागि बीमा समितिले चालु आर्थिक बर्षमा नै सबै बीमा कम्पनी तथा बीमा समितिको तर्फबाट बराबर रकम राखेर १ करोड रुपैयाँको कोष बनाउन लागेको छ ।

‘कोषमा सबै बीमा कम्पनीले बराबर रकम राख्छन्, हामीले पनि बीमा कम्पनीहरुले राखेजति नै रकम राख्ने हो, चालु आर्थिक बर्षमा बीमा समिति अन्तरगत तालिम समिति बनाएर प्रक्रिया अगाडि बढाइहाल्ने र क्रमैसँग त्यसलाई कम्पनीमा परिणत गर्ने रणनीति बनाएका छौं, त्यही कम्पनी पछि गएर एकेडेमीको रुपमा परिणत हुने हो,’ अध्यक्ष चापागाईले क्लिकमाण्डूसँग भने ।

यसको लागि समितिले १७ जना बीमा बिज्ञ रहेको रोष्टर तयार पारेको छ । रोष्टरमा रहेका विज्ञले बीमाका विभिन्न विषयमा तालिम दिने कार्यसुची बनाउने छन् । सो विज्ञ समुहबाट पनि ५ जना विज्ञ रहेको अर्काे कोर टिम बनाइएको छ । सो टीमले बीमाको बजार विस्तार र चेतना अभिबृद्धिको लागि आवश्यक कार्यसुची तयार पार्नेछ ।


क्लिकमान्डु