साढे ४ करोडको लागतमा तटबन्धन निर्माण तीव्र



मोरङ । बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले ४ करोड ५० लाख रुपैयाँको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ ।

वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु भएको तटबन्धन निर्माण कार्य हालसम्म २५ प्रतिशत सम्पन्न भइसकेको छ र सम्पूर्ण निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

बाढीले सबैभन्दा बढी असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालीमन्दिर क्षेत्रमा हाल ५१० मिटर लामो तटबन्धन गरिने भएको हो । वर्षेनी खोलाले बहाव परिवर्तन गरेर मूल नहरलाई नै क्षति पुर्याउने जोखिम बढेपछि तटबन्धन गर्नुपरेको सिनियर डिभिजनल इञ्जिनियर वान्तवाले बताए ।

तटबन्धन निर्माणको जिम्मा स्वामी नारायण आशीर्वाद साह जेबी, उदयपुरले लिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा हुने गर्दछ । रासस


क्लिकमान्डु