देवघाटमा ७ करोडको लागतमा विद्युतीय शवदाह गृह बनाइने



चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।

देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रक्रिया अघि बढाइएको हो ।

सो गृह निर्माणका लागि शहरी विकास मन्त्रालयबाट विस्तृत अध्ययन भइसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए। पन्ध्र दिनपछिअध्ययन प्रतिबेदन आउने र त्यसपछि कामलाई अघि बढाइने उनले बताए ।

करिब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सो गृह निर्माणका लागि चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । विस्तृत अध्ययनको प्रतिवेदन आइसकेपछि शवदाहस्थल निर्माण शुरु गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

‘देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्कोतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शव गृहमा नै जोड गरेका हौँ’ उनले भने ।

दाहासंस्कारका लागि एउटा शवको दाउराबाट एउटा लास दाहसंस्कार गर्न तीन हजारभन्दा बढी खर्च लाग्ने गर्छ । विद्युतीय शवदहबाट दाउराको भन्दा पनि खर्चमा ७५ प्रतिशत कटौती हुन्छ ।

यसैगरी भरतपुर अस्पतालमा बेवारिसे शवको संख्या पनि निकै हुने गरेको छ । ती शव व्यवस्थापनमा पनि कठिनाइ हुँदै आएको छ । देवघाटमा शव दहनका लागि चितवन र बाहिरी जिल्लाबाट दाउरा ल्याइँदै आइएको छ । रासस


क्लिकमान्डु