छ महिनामै पौने २८ अर्बको सेयर निस्कासन




काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नै विभिन्न कम्पनीहरुले पौने २८ अर्ब रुपैयाँ बराबरको सार्बजनिक निस्कासन गर्ने अनुमति पाएका छन् । यस्तो निस्कासन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३० प्रतिशतभन्दा बढी हो ।

धितोपत्र बोर्डले दिएको जानकारी अनुसार सो अबधिमा ४६ वटा कम्पनीहरुले २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सार्बजनिक निस्कासनको अनुमति पाएका हुन् । गत बर्षको तुलनामा संख्याको आधारमा ६.९८ प्रतिशत र रकमको आधारमा ३०.४५ प्रतिशतले बढी भएको बोर्डको भनाइ छ ।

बोर्डले दिएको जानकारी अनुसार ६ महिनामा ९ वटा कम्पनीको २ अर्ब ८६ करोड रुपैयाँ बरावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), ३ वटा कम्पनीको २ अर्व ६७ करोड रुपैयाँ बरावरको थप सार्वजनिक निष्काशन (एफपीओ), ४ वटा सामूहिक लगानी कोषको ४ वटा योजनाको ४ अर्व ७० करोड रुपैयाँ बरावरको इकाई निष्काशन तथा ३० वटा कम्पनीको १७ अर्व ५३ करोड रुपैयाँ बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ ।

त्यसैगरी सो अवधिमा बोर्डले संगठित संस्थाकोे नाफाबाट भएको बचत वाजगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त शेयरको रुपमा विद्यमान शेयरधनीहरुलाई प्रदान गरिने ३० वटा संगठित संस्थाहरुको ७ अर्व ८२ करोड रुपैयाँ बरावरको बोनस शेयर दर्ता गरेको छ । गत बर्षको सोही अबधिमा ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बरावरको बोनस शेयर दर्ता गरिएको थियो ।

सार्वजनिक निष्काशन अनुमति दिने प्रकृयालाई छिटो छरितो (फास्ट ट्रयाक) रुपमा सम्पन्न गर्न बोर्डले सात कार्य दिनभित्र निष्काशन अनुमति प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु