लघुजलविद्युत् उत्पादन परीक्षण सफल



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ ।

पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो ।

नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताए।

विद्युत्गृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उनले बताए। गत पुस दोस्रो साता सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टर्वाइन लगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण शुरु भएको थियो ।  सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ ।

एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा दुई करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१७२ मा तत्कालीन जिल्ला समन्वय समितिले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताए ।

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पु¥याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु