यसकारण बढ्दै छ सुनको मूल्य, प्रतिऔंस १० हजार डलरसम्म पुग्न सक्ने




अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च हुनसक्ने आंकलन गरिएको छ । सुनको मूल्य बढ्न सक्ने तीन वटा कारण विश्वका धातु विज्ञहरुले पेश गरेका छन् ।
कमजोर अवस्थाको डलर, अमेरिका र उत्तर कोरियाबीचको सम्भावित युद्ध तथा डोनाल्ड ट्रम्पमाथिको महाअभियोगले सुनको मूल्य बढ्न सक्ने बहुमूल्य धातुका विज्ञ जिम रिकार्ड्सले बताएका छन् ।

सुनको मूल्यका लागि महत्वपूर्ण वर्ष २०१८ हुने देखिएको रिकार्डले भनेका छन् ।

‘हामी मेरो जीवनकालको तेस्रो बुल बजारमा छौं, हामीले धेरै लामो यात्रा तय गर्नु छ,’ किट्को न्युजसँगको अन्तर्वार्तामा रिकार्डले बताएका छन् ।

डलरको मूल्यमा आउन सक्ने सम्भावित गिरावट, उत्तर कोरियासँग अमेरिकाको युद्ध, चीनसँगको व्यापार युद्ध र राष्ट्रपतिविरुद्धको महाअभियोग लगायत सुनको मूल्य बढ्ने कारण भएको उनले पेश गरेका छन् ।

यी घटनाले सुनको मूल्य प्रतिऔंस १० हजार डलरसम्म पु¥याउन सक्छ । गत साता सुनको मूल्य १ हजार ३ सय ७० डलर अर्थात एक वर्षभन्दा बढी अवधिकै उच्चमा पुगेपछि पछिल्ला दिनहरुमा पुनः ओरालो लाग्न थालेको छ । सोमबार यो वस्तु १ हजार ३ सय ४७ डलरमा कारोबार भएको थियो । यद्यपि यो वृद्धि वस्तुको मूल्यमा भएको वृद्धिका साथ आएको छ ।

‘सुनले तपाईंको क्रयशक्तिको रक्षा गर्छ । तर, यदि सुन ५ हजार डलर कायम भयो भने तेलको मूल्य प्रतिब्यारेल ४ सय डलर हुन सक्छ र सबै वस्तुको मूल्य दोब्बर वा तेब्बर हुन सक्छ । तपाईं वास्तवमै यो अवस्थामा हुनुहुन्न,’ रिकार्डले भनेका छन् ।

गत साताको वृद्धि अमेरिकी सेक्रेटरी स्टेभेन मुचिनको वक्तव्यसँग सम्बन्धित थियो । उनले लगातार दोस्रो दिनमा पनि अमेरिकी प्रशासन व्यापारमा कमजोर डलरको पक्षमा रहेका बताएका थिए । उनको यो अभिव्यक्तिसँगै सुनको मूल्य तीन वर्षकै न्यूनमा ओर्लिएको थियो ।

नेपालमा यसरी हुन्छ सुनको मूल्य निर्धारण

बिश्व बजारमा सुनको मूल्य परिवर्तन भइरहने कारण अमेरिकी डलरको सटही दर हो । अमेरिकी डलरको विनिमय दर दिनहुँ परिवर्तन भइरहन्छ । नेपाली रुपैयाँको अमेरिकी डलरसँगको सटही दर र अन्तर्राष्ट्रिय बजारमा रहेको सुन मूल्यको हिसाब गरिन्छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर हिसाब गरेर निकालेको मूल्यमा सुनको भन्सार दर जोडिन्छ ।

एक प्रतिशत नाफा राखेर नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ । नाफाको रुपमा राखिएको एक प्रतिशतमध्ये बैंकलाई आधा र सुन व्यवसायीलाई आधा प्रतिशत भाग लगाइन्छ । कहिलेकाहिँ माग र आपूर्ति आधारमा पनि भाउ तलमाथि पर्न सक्छ ।


पुष्प दुलाल