फास्ट ट्रयाकको निर्माण द्रुत गतिमा, अझै ५ स्थानमा शिबिर थप्ने तयारी



काठमाडौँ–तराई–मधेस दू्रतमार्गका लागि बाराको बागदेवमा डोजर र स्काभेर प्रयोग गरी डाँडा कटान गरिँदै । तस्वीर: नारायण न्यौपाने, राससमकवानपुर । नेपाली सेनाले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग निर्माणलाई ४ वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।

काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ ।

५ स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए । ‘मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको छ ।’

त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मिटर फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ ।

झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको ३ महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए ।

दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र टिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको अर्का प्रमुख सेनानी भरतलाल श्रेष्ठले जानकारी दिए ।

प्रत्येक सात किमी क्षेत्रमा शिविर खडा गरेर कामलाई अघि बढाउने सन्दर्भमा निकट भविष्यमै थप ५ स्थानमा अन्य शिविर खडा गरिने जनाइएको छ ।

राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन २०० जनशक्ति खटाएर सहायकरथी भरतबहादुर खड्कालाई रुख कटाको जिम्मेवारी दिइएकामा टोलीले हालसम्म १५ हजार कटान गरी व्यवस्थापनसमेत गरिसकेको छ ।

झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको ३ महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए ।

द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले सेनालाई दिएको हो ।

उक्त राजमार्गको निर्माण लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त दु्रतमार्गको ट्र्याक पनि यसअघि सेनाले नै खनेको हो । उक्त राजमार्गमा साना ठूला गरी करिब १०० पुल निर्माण गरिनेछ ।

द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किमीभन्दा बढी हुने तथा मकवानपुरको ठिङ्गनमा १.४ किमी लामो सुरुङ निर्माण गर्नुपर्ने सेनानी विनोद श्रेष्ठले बताए ।

‘आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइनेछ’, श्रेष्ठले भने ।

निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा ९ वटाको प्रक्रिया अघि बढिसकेको छ । उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ ।

ती पुल ८० मिटरसम्म अग्लो हुने अनुमान गरिएको छ । सडक निर्माणका लागि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ ।

दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइ हुने ४ लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्नेछ । निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले सो सडकको महत्वलाई अझ उजागर गर्नेछ । रासस


क्लिकमान्डु