कहिले आउँछ भिसेरा रिपोर्ट ? बनेपा बसपार्क मृत्यु प्रकरण



काठमाडौ । एकै परिवारका चारजनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको छ महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन नसक्दा पीडितले आक्रोश पोखेका छन् ।

गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले शव परीक्षण रिपोर्टले आत्महत्या भएको देखाए पनि भिसेरा रिपोर्ट नआउञ्जेल निक्र्यौलमा पुग्न नसकिएको बताएका छन् ।

उनले भिसेरा परीक्षणका लागि लामो समयावधि लाग्नसक्ने उल्लेख गर्दै निश्चित मितिमा आउँछ भनेर भन्नसक्ने अवस्था नरहेको बताए ।

एउटा घटनाको मात्रै गर्ने भन्ने हुँदैन, एउटै किसिमका घटनाको एकैपटक भिसेरा रिपोर्ट आउँछ प्रनाउ मरासिनीले भने ।

भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएको, सबैजनाले कुनकुन समयमा खाएको, एकैपटक खाएको वा नखाएको भन्ने विस्तृत विवरण आउने बताइएको छ ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृतावस्थामा फेला परेका थिए ।

तर स्थानीय बासिन्दाले घटना रहस्यमय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका थिए । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ ।

मृत फेला परेका बुबा, आमा, छोरा र छोरी हुन् । गौतम भोजनालयमा भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरेको र सेल्फस नामक विषादीको बोतलसमेत प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान ब्यूरोले जनाएको छ ।


क्लिकमान्डु