कहाँबाट ल्याउने ३ हजार कर्मचारी ? महानगरमा प्रमुख प्रशासकीय अधिकृत नै खाली



काठमाडौ । स्थानीय तहमा करिब तीन हजार कर्मचारीको अभाव रहेको पाइएको छ । कुल ७५३ स्थानीय तहका लागि सहसचिव, उपसचिव शाखा अधिकृत र सुब्बासहित करिब ३ हजार कर्मचारी अभाव भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाका अनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृततर्फ १४४ जना र वडाका सचिवतर्फ १ हजार ५८ पद रिक्त रहेका छन् । अहिले ती ठाउँमा निमित्तले काम गरिरहेका छन् ।

सबै स्थानीय तहमा करिब ६ हजार १०० वडा कार्यालय छन् । पहिलेका कार्यकारी प्रमुखलाई अहिले प्रमुख प्रशासकीय अधिकृत भनिन थालेको हो । विराटनगर र वीरगञ्जमा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै छैनन् । ती स्थानमा सहसचिवको दरबन्दी भए पनि उपसचिवले काम चलाइरहेका छन् ।

यसैगरी १३ वटा उपमहानगरमा भने प्रमुख प्रशासकीय अधिकृत पुगेका छन् । यस्तै २७६ नगरपालिकामध्ये २१ वटामा प्रमुख प्रशासकीय अधिकृत रहेका छैनन् भने ६९ मा शाखा अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सञ्चालन गरेका छन् ।

नगरपालिकामा उपसचिव रहने व्यवस्था गरिएको छ । यस्तै ४६० गाउँपालिकामध्ये   ५२ स्थानमा प्रमुख प्रशासकीय रिक्त रहेका छन् । गाउँपालिकामा भने शाखा अधिकृत रहने व्यवस्था गरिएको छ ।

कर्मचारी अभाव भएपछि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग ३ हजार १४६ कर्मचारीमा माग गरेको उहाँले बताउनुभयो । करिब दुई महिनाअघि कर्मचारी अपुग भएपछि सुब्बा र खरीदार माग गरिएको छ । तर अहिलेसम्म सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाएका छैनन् ।

स्थानीय तह शासन आदेश २०७४ ले नयाँ गाउँपालिका र नगरपालिकामा ९ जना कर्मचारी र वडामा ३ जनाका दरले कर्मचारी व्यवस्था गरिएको छ ।


क्लिकमान्डु