गाईपालनबाट मासिक एक लाख आम्दानी




पाल्पा । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनिरहेकी छिन् ।

गैरेले गाईपालन व्यवसायबाट मासिक १ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । हाल उनीसँग १५ वटा जर्सी गाई रहेका छन् । गैरे दैनिक ८० लिटर दूध बिक्री गर्दै आएको बताउँछिन् ।

गैरे पूर्व माओवादी लडाकू हुन् । उनले स्वेच्छिक अवकाशका क्रममा प्राप्त गरेको ५ लाख रुपैयाबाट अर्गलीमा गाईपालन गर्न सुरु गरेकी हुन् । पाँच वर्षको अवधिमा १५ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको गैरेले बताइन् ।

तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गरिरहेका छिन् । दुई रोपनीमा गाई फार्म तथा अन्य जमिनमा घाँसखेती गर्दै आइरहेकी छिन् । उनले वार्षिक ३६ हजार रुपैयाँ भाडा बापत तिर्ने गरेकी छिन् । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । रासस


क्लिकमान्डु