बिजुली चोर समाउन ललितपूरका मेयर र सीडीओसँग कुलमानको आग्रह, नत्र जिल्लाभर ‘ब्ल्याक आउट’



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठितरुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए ।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,’ घिसिङले भने ।

यसरी विद्युत कटौति गरिएपछि जस्तो जुकै ठूलो दबाब आए पनि निर्णयबाट पछि नफर्कने उनको भनाइ छ । राजधानीलाई विद्युतचोरीमुक्त बनाउन उनले सबैको सहयोग र साथको आवश्यकता पनि औल्याए ।

ललितपुरको भित्रि सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगाएतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको प्राधिकरणको भनाइ छ । गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी,गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र भनेर प्राधिकरणले पहिचान गरेको छ ।

यसैगरी चापागाउँ जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युतचोरी गरेको फेलापरेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए ।

ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्णरुपमा विद्युतको प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल बितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहले बताए ।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रामण हुने गरेको छ, यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ,’ सिंहले भने ।

प्राधिकरणका अनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक वत्ति मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापकरुपमा भइरहेको छ ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरिरहेका छन् । उनले ललितपुरलाई विद्युत चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताए ।

‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्यो,’ घिसिङले भने ।

प्राधिकरणले उपभोक्तालाई समेत विद्युतचोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिंदै पोष्टर टाँस्ने, माईकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिकरुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने घिसिङले जानकारी दिए ।

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीनवर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।


क्लिकमान्डु