महाकाली सिँचाइ नहर निर्माण तीव्र, सन्धी अनुसारको १६ अर्ब दिएन भारतले




भीमदत्तनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालू आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ ।

आगामी चैत महिनादेखि नै नहर निर्माणको काम शुरु हुने आयोजनाको कार्यालयले जनाएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) वीरसिंह धामीले तेस्रो चरणअन्तर्गत नहर निर्माणको ठेक्का भइसकेको जानकारी दिए ।

बितेको तीन वर्षमा तेस्रो चरणअन्तर्गत करिब १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने १३ दशमलव ६ मिटर चौडाइको मूल नहर कैलालीको मालाखेतीसम्म पु¥याउने लक्ष्य छ । चालू आवबाट १२ दशमलव ६९० किलोमिटरबाट नहर निर्माण शुरु भएर करिब २८ किलोमिटरसम्म आगामी तीन वर्षभित्र पुग्ने छ ।

‘अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फुलेली गाउँसम्म मूल नगर पुग्छ, पन्ध्र किलोमिटर नहर निर्माणका लागि दुई अर्ब ९४ करोड रुपैयाँ निर्माणमा खर्च हुनेछ,’ उनले भने ।

उनले आयोजना अन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । ‘पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टर सिँचित भएको छ, तोकिएको समयसीमाभित्र नहर निर्माण पूरा हुने सम्भावना निकै कम छ,’ धामीले भने । स्वीकृत योजनाअनुसार सन् २०२२ भित्र नहर निर्माण सक्ने भनिए पनि हालसम्म थोरै नहर निर्माण भएको छ ।

त्यसैगरी भारतले तेस्रो चरणको निर्माणका लागि दिने भनेको बजेट अहिलेसम्म प्राप्त नभएको उनले जानकारी दिए ।

‘अहिलेसम्म सरकारकै लगानीमा नहर बन्दैछ, तेस्रो चरणका लागि भारतले दिने भनेको १६ अर्ब रुपैैयाँ यहाँ आइपुगेको छैन,’ धामीले भने ।

तेस्रो चरण नहरको टनकपुर क्षेत्रको भारतीय भूमिमा करिब १ दशमलव २ किलोमिटर नहर भारतले निर्माण गर्नुपर्ने एकीकृत महाकाली सन्धिमा उल्लेख छ ।

झण्डै १३ किलोमिटर नहर निर्माणका लागि गत पुस मसान्तसम्म एक अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको कार्यालयले जनाएको छ । ‘६० करोड मुआब्जामै खर्च भयो, शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर निर्माणका लागि प्रक्रिया अघि बढेको छ,’ सिडीइ धामीले भने । नहरसँगै साइफन, पुल, ग्रामीण पुल र सडकमा ग्राइभेललगायत काम भइरहेका छन् । रासस


क्लिकमान्डु