विदेश जाने नेपाली कामदारको रोजाइमा पुनः फर्कियो मलेसिया



काठमाडौं । विगत दुई वर्ष देखि ओरालो लागेको मलेसियाको वैदेशिक रोजगारी लयमा फर्केको छ ।

सन् २०१५ को अन्त्यसम्ममा मासिक १० देखि १२ हजार नेपाली युवा मलेसियाका पुगेका थिए । तर, मलेसिया सरकारले लामो समयदेखि अवैधानिक रुपमा काम गरिरहेको आप्रवासी कामदारलाई वैधानिक बनाउने प्रक्रियाको थालनी सँगै नेपाली कामदारले पाउँदै आएको रोजगारीमा संकट सिर्जना भएको थियो ।

तर, सन् २०१७ को जुनमा खाडी राष्ट्रहरुले कतार माथी नाकाबन्दी लगाएसँगै नेपाली कामदारको रोजाइमा मलेसिया परेको छ ।

नेपालबाट अहिले महिनामा सरदर १० हजार युवा रोजगारीका लागि मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङले २०७२ असार देखी लागू गरेको फ्र्रि भिसा तथा टिकट र मलेसिया आर्थिक संकटमा पर्दा नेपाली कामदारले गुमाउन परेको रोजगारी लयमा फर्केदो अवस्थामा छ ।

तर, पहिलेका तुलनामा भने नेपाली कामदारले अवसर पाउन सक्ने अवस्था छैैन् । नेपाली कामदारले अहिले बंगलादेशका कामदारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

सन् २०१० देखि मलेसिया सरकारले बन्द गरेको बंगलादेशका कामदारलाई फुकुवा गर्दा नेपाली कामदारले पाउँदै आएको रोजगारी धरापमा परेको वैदेशिक रोजगार व्यवसायी संघमा निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन् । चालु आर्थिक वर्ष २०७४/७५ को साउनदेखि पुस मसान्तसम्ममा नयाँ भिसामा रोजगारीका लागि गएका कामदार मध्ये ३४ प्रतिशत मलेसिया पुगेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा नयाँ कामका लागि (म्यानपावर मार्फत) कुल एक लाख ६९ हजार एक सय ९० जना विश्वका विभिन्न मुलुक गइसकेका छन । जसमा मलेसिया जाने कामदारको संख्या मात्रै ५८ हजार ६ सय ५९ रहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन् ।

मलेसिया नेपाली कामदारको लागि सहज गन्तव्य पनि हो । खाडीको तुलनामा मलेसिया जाने कामदारले आम्दानी बढी गर्छ । नेपाली कामलारका लागि मलेसियाको हावापानी पनि नेपाल सुहाँउदो छ ।

सरकारले दुई वर्ष अगाडि लागू गरेको फ्रि भिसा तथा टिकटको नियमले गत आर्थिक वर्षसम्म मलेसिया जाने कामदारको संख्यामा कमी आएको थियो । साथै मलेसिया सरकारले लामो समयदेखि अवैधानिक रुपमा मलेसियामा काम गर्दै आएको वैदेशिक कामदारलाई आफ्नै देश फिर्ता गर्दै नयाँ कामदार लैजान थालेको छ ।

नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको कतारमा खाडी राष्ट्रको नाकाबन्दीले कतार जाने कामदारले विकल्पको रुपमा मलेसिया रोज्न पुगेका छन् । जसको कारण मलेसिया जाने कामदारको संख्याका वृद्धि आएको हो । विगत दुई वर्षदेखि मासिक १० देखि ११ हजार कामदार कतार जाने गरेको भएपनि अहिले त्यो संख्या सरदर सात हजारमा झरेको छ ।

तर, मासिक ५ हजारको संख्याका मलेसिया जाने गरेपनि चालू आवको पहिलो महिना देखिनै मलेसिया जाने कामदारको संख्या सरदर १० हजार छ । नयाँ कामका लागि मलेसिया जाने कामदारको संख्या बढेपनि पुनः विदामा आइ फेरी फर्कनेको संख्यामा भने कतार नै अगाडि रहेको छ ।

यसैगरी चालू आवको पहिलो ६ महिनामा नयाँ कामका लागि विदेश गएका कामदार मध्ये २७ प्रतिशत कतार, १६ प्रतिशत दुबई, १३ प्रतिशत साउदी, ४ प्रतिशत कुवेत र अन्य देश जानेको संख्या ६ प्रतिशत रहेको छ । विभागका अनुसार ६ महिनामा नयाँ कामका लागि म्यानपावर मार्फत कतार ४५ हजार ६५, दुबई २६ हजार आठ सय १८, साउदी २२ हजार तीन सय ४५ र कुवेत ६६ सय ७३ जना विदेसिएका छन् ।

विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा नयाँ कामको खोजीमा म्यानपावर मार्फत रोजगारीका एक लाख ६९ हजार एक सय ९० विदेसिएका थिए ।
यसैगरी ६ महिनाकै अवधीमा विदामा नेपाल आइ पुनः रोजगारीकै लागि विदेश जाने युवाको संख्या एक लाख २६ हजार आठ सय ९८ छ । साथै व्यक्तिगत र विभिन्न माध्यमबाट विदेश पुगेर वैधानिक मान्यता लिनेको संख्या १४ हजार दुई सय २२ रहेको विभागका प्रवक्ता अधिकारी बताउँछन् ।


क्लिकमान्डु