बिनाअनुमति बैंकहरुले चलाए भाइबर बैंकिङ्ग, तथ्यांक दुरुपयोग हुन सक्ने नियामकको चिन्ता




काठमाडौं । पछिल्ला दिनमा बैंकहरुबीच भाइबर बैंकिङ्ग सेवा बिस्तार गर्ने होडबाजी चलिरहेको छ । बैंकहरुले सेवाग्राहीहरुलाई आकर्षित गर्न र आफ्ना सेवा सुविधाहरु मोबाइल मार्फत बिस्तार गर्ने उद्धेश्यका साथ भाइबर बैंकिङ्ग सुबिधा दिन थालेका हुन् ।

दैनिक जसो कुनै न कुनै बैंकले भाइबर सेवा शुरु गरेको जानकारीहरु बाहिर आईरहँदा यस्तो सेवा सम्बन्धित नियामकबाट अनुमति नै नलिई शुरु भएको अधिकारीहरुले बताएका छन् । नेपालभित्र दूरसंचार क्षेत्रसम्बन्धि प्रविधि तथा सेवा संचालनका लागि अनुमति दिने निकाय नेपाल दूरसंचार प्राधिकरणबाट अनुमति नै नलिई बैंकहरुले भाइबर बैंकिङ्ग सेवा संचालन गरेको प्राधिकरणको भनाइ छ ।

अनुमति बेगर नै बैंकहरुको भाइबर सेवा शुरु भएको र त्यसले ग्राहकहरुको व्यक्तिगत बिवरणको सुरक्षाको बारेमा चिन्ता बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

भाइबरबाट बैंकिङ्ग सेवा लिने ग्राहकहरुको संख्या दिनप्रतिदिन बढिरहेको भएपनि त्यसको आधिकारिकता तथा सुरक्षाको बारेमा बैंकहरु सचेत नभएको बारेमा समेत प्राधिकरणले चासो प्रकट गरेको छ ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले अहिले भाइबर सेवा चलाएका कुनै पनि बैंकहरुले अनुमति नलिएको जानकारी दिए ।

‘हाम्रोमा केही बैंकहरुले प्रकृयाको बारेमा सोधखोज गरेपनि सेवा शुरु गरेका कुनैपनि बैंकहरुले अनुमति लिएका छैनन्,’ प्रवक्ता अर्यालले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणका अनुसार सानिमा बैंकसहित केही बैंकले भाइबर सेवा संचालनका लागि अनुमति मागको लागि आवेदन दिएका छन् । अन्य बैंकहरुले अनुमति बेगर नै भाइबर सेवा संचालन गरिरहेका छन् ।

हालसम्म भाइबर सेवा संचालन गरिरहेका कुनैपनि बैंकहरुले प्राधिकरणमा सेवा संचालनका लागि अनुमति नलिनुले कतै ग्राहकहरुको डाटा सुरक्षित नहुने होकी भन्ने आशंका रहेको सोहि विषयमा अध्ययन गरिरहेका प्राधिकरणका एक अधिकारीले बताए ।

‘यसअघि पनि भाइबरले भाइबर आउट सेवा अनुमतिबिना नै चलाएको थियो र हामीले रोकका थियौं, अहिले पनि भाइबर बैंकिङ्ग जस्ता सेवाको जोखिमसहित विविध पक्षबारे अध्ययन गरिरहेका छौं,’ उनले भने ।

नेपालमा भाइबरको सर्भर नभएको र आधिकारिक कार्यालय तथा सम्पर्क अधिकृत समेत नभएको हुँदा यसको लागि प्राधिकरणले आवश्यक नियम बनाउने तयारी गरिरहेको ती अधिकारीले जानकारी दिए ।

भाइबर एउटा मोबाइल एप हो, जून विशेषगरी भ्वाइस र मेसेज आदान प्रदान गर्नका लागि नेपालमा निकै लोकप्रिय छ । करिब ६ प्रतिशत प्रयोगकर्ता रहेको भाइबरले नेपाललाई विशेष महत्वको बजार मानेर समय समयमा नेपाल लक्षित अभियानहरु संचालन गरिरहेको छ ।

प्रयोगकर्ताहरुको संख्या अधिक रहेको हुँदा नेपाली बैंकहरुले भाइबर बैंकिङ्ग सेवा शुरु गरेको भाइबर बैंकिङ्गमा प्राविधिक सहयोग गरिरहेको कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालले बताए ।

‘हामीले बैंकका ग्राहकहरुको गोपनियतालाई ध्यान दिएर काम गरेका छौं, डाटाको सुरक्षा गर्न भाइबरको एण्ड टू एण्ड इन्क्रिप्सनका साथमा नेटवर्कमा पनि इन्क्रिप्सन गरेका छौं,’ अध्यक्ष ढकालले क्लिकमाण्डूसँग भने ।

उनकाअनुसार बैंकहरुले भाइबर सेवा दिने ग्राहकहरुको डाटा बैंकसँग मात्र हुने र त्यो डाटा निकै सुरक्षित र गोप्य हुने गर्दछ ।

‘सेवा संचालन गर्नका लागि भाइबर एउटा प्लेटफर्म मात्र हो, त्यसमा डाटाहरु नै आदान प्रदान हुने होईन्, यो भन्दा असुरक्षित त एसएमएस बैंकिङ्ग हुन्छ,’ उनले भने ।

भाइबर बैंकिङ्गमा प्रयोगकर्ताहरुको लगइन मात्र हुने तर एसएमएस बैंकिङ्गमा टेक्स्ट गरिएका विषय ‘प्लेन टेक्स्ट’ मा नै हुने हुँदा बढि असुरक्षित हुने उनको भनाई छ ।

भाइबर बैंकिङ्गको तयारीमा रहेको सानिमा बैंकले भने प्राधिकरणमा यसको बारेमा अनुमतिका साथ जानकारी माग गरेको छ । बैंकका प्राविधिक प्रमुख तथा इन्टरनेट सोसाईटी नेपालका अध्यक्षसमेत रहेका बिक्रम श्रेष्ठले प्रविधि अगाडि आउने र नियम कानून पछि आउने गरेको भन्दै भाइबर बैंकिङ्गलाई सामान्य मान्नुपर्ने बताए ।

‘यो मोबाइल बैंकिङ्गको एउटा प्रकृया मात्र हो, जसमा अनुमति लिने नलिने बारेमा नियम नै छैन्, बैंकहरुले ग्राहकहरुलाई थप सुविधा दिएका मात्र हुन्,’ उनले क्लिकमाण्डूसँग भने ।

श्रेष्ठले प्राधिकरणमा यसको बारेमा जानकारी माग गरेपनि अहिलेसम्म कुनै पत्र नपाएको स्पष्ट पारे ।

उनकाअनुसार राष्ट्र बैंकबाट पनि यसको बारेमा सही गाईडलाइन नभएको हुँदा यसको बारेमा के गर्ने भन्ने विषय झनै अस्पष्ट भएको छ । भाइबर ओपन प्लेटफर्म भएको हुँदा सबैले नै यसको माध्यमबाट प्रयोग गरेर चलाउन सकिने उनको भनाई छ । तर यसको लागि सरकारले आवश्यक बनाउनुपर्ने र नीति नियम ल्याउनुपर्ने श्रेष्ठले बताए ।

तर बैंकहरुले सेवा संचालन गर्दा त्यसको सुरक्षाको बारेमा बैंकहरुले नै ध्यान दिनुपर्ने क्यान महासंघका पूर्व अध्यक्ष ईन्जिनियर सुरेश कर्णले बताए ।

बैंकहरुले आफ्ना सेवा तथा उत्पादनहरुको बारेमा आईटि अडिट गर्ने गरेको र त्यसको सुरक्षाको पाटोमा पनि ध्यान दिने गरिएको उनले स्पष्ट पारे ।

‘बैंकहरुको आईटि अडिट गर्दा मोबाइल बैंकिङ्गसम्मको अडिट गर्न सक्ने क्षमता नेपाली कम्पनीहरुसँग रहेको छ, प्रतिस्पर्धात्मक बजारमा नयाँ प्रविधिलाई अंगिकार गर्दा त्यसको सुरक्षामा पनि हेर्नुपर्छ,’ ईन्जिनियर कर्णले भने ।

बैंक ग्राहकहरुको डाटा जोखिममा ?
नेपाली बैंकहरुले आफ्ना सेवाग्राहीहरुलाई भाइबर बैंकिङ्गप्रति आकर्षित गरिरहँदा सेवाग्राहीहरुको व्यक्तिगत खाताको डाटा जोखिममा पर्न सक्ने सम्बन्धित सरोकारबालाहरुको भनाई छ । व्यक्तिगत जानकारी भाइबरको सर्भरमा समेत संग्रहित हुने तर त्यसको सर्भर नेपालमा नै नभएको हुँदा सो जानकारी भाइबरले आफूले प्रयोग गर्न सक्ने आशंका सो क्षेत्रका विज्ञहरुले गरेका छन् ।

नेपालमा भाइबरको कुनै औपचारिक कार्यालय वा औपचारिक सम्पर्क प्रतिनिधि नभएको हुँदा डाटा चोरी भएमा जिम्मेबार को हुने भन्ने प्रश्न आएको प्राधिकरणका प्रवक्ता अर्यातले बताए ।

‘यस्तो विषयमा सेक्यूरिटी तथा प्राइभेसीको कुरा आउँछ, विभिन्न कन्टेन्टहरु राखिएका हुन्छन्, भाइबरले त्यसलाई बाहिर ल्याएमा संवेदनशील हुनसक्छ,’ प्रवक्ता अर्यालले भने ।

सुरक्षाको विषय सबैको जिम्मेबारी भएको हुँदा त्यसमा सबै सजग हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै ईन्जिनियर कर्णले पनि बैंकहरुले नै सेवा दिने हुँदा यसको लागि पहिलो जिम्मेबार बैंक नै हुनुपर्ने बताए ।

‘सुरक्षामा सबैभन्दा पहिले बैंकहरु नै जिम्मेबार हुनुपर्दछ, त्यसपछि भने कम्पनीले यसको लागि आवश्यक सुरक्षा प्रत्याभुति गर्नुपर्दछ,’ उनले भने ।

भाइबर जस्ता अन्तराष्ट्रिय कम्पनीहरुले यसको बारेमा आवश्यक सुरक्षा मापदण्ड कायम गरेको भएपनि स्थानीय बैंकहरु समेत सचेत र सजग बन्नुपर्ने उनको भनाई छ ।

एफ वान सफ्टका अध्यक्ष ढकालले भने मोबाइल एप्स तथा च्याटिङ्ग एप्समार्फत विश्वका विभिन्न मुलुकहरुमा सेवा संचालन भईरहेको भन्दै भाइबर बैंकिङ्गलाई रोक्न नहुने बताए ।

‘यस्ता प्रविधिलाई रोक्नु हुँदैन्, सेवाग्राहीको सुरक्षा हाम्रो पनि प्राथमिकता हो, आगामी दिनमा कसरी जाने भन्ने बारेमा हामी सबैसँग छलफल गर्न तयार छौं,’ ढकालले भने ।

प्राधिकरणले भाइबर बैंकिङ्ग जस्ता ओटिटी सेवा संचालनको लागि छुट्टै मापदण्ड बनाउन आवश्यक देखिएको भन्दै त्यसबारेमा सरोकारबालाहरुसँग छलफल शुरु गरिएको जनाएको छ ।

हाल नेपालमा आधा दर्जनभन्दा बढि बैंकहरुले भाइबर बैंकिङ्ग सेवा संचालन गरिरहेका छन भने अरु बैंकहरु समेत तयारीको योजनामा छन् ।

के हो भाइबर बैंकिङ्ग ?

भाइबरमा आधारित भएर सेवा प्रयोग गर्न पाइने गरि बैंकहरुले भाइबर बैंकिङ्ग सेवा दिएका हुन् । नेपालमा लोकप्रिय मोबाइल एप भएको हुँदा भाइबरको प्लेटफर्म प्रयोग गरेर बैंकिङ्ग सेवा शुरु भएको हो ।

भाइबर बैंकिङ्गको लागि भाइबरले प्लेटफर्म प्रयोग गर्ने गरि छुट्टै ‘एपिके’ प्रदान गरेको हुन्छ र त्यसैको आधारमा भेरिफाईड एकाउन्टका साथमा बैंकहरुले आफ्ना ग्राहकहरुलाई सेवा दिन्छन् । नेपाल भाइबर बैंकिङ्ग सेवा शुरु गर्ने विश्वको दोस्रो राष्ट्र भएको एफवान सफ्टका विश्वास ढकालको भनाई छ । भाइबरले अहिले यस्तै प्रकारको सेवा श्रीलंकामा पनि संचालन गरिरहेको छ ।

भाइबरबाट सेवा लिनका लागि ग्राहकहरुले भाइबर एप मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ र आफ्नो बैंकसँग सम्पर्क गरेर सो सेवा लिन सकिन्छ । त्यसको लागि ग्राहकको मोबाइल नम्बर र बैंकमा दर्ता रहेको मोबाइल नम्बर एउटै हुनुपर्नेछ । मोबाइल नम्बर भेरिफाइड भएपनि मात्र ग्राहकहरुले आफ्नो बैंक स्टेटमेन्ट, रकम जम्मा तथा झिकेको जस्ता जानकारीहरु भाइबरबाटै प्राप्त गर्न सक्दछन् ।

भाइबर बैंकिङ्गको माध्यमबाटै रकम ट्रान्सफर गर्न र अनलाइन पेमेन्टलगायतका सुविधाहरु पनि प्रयोग गर्न सकिन्छ । तर अहिलेसम्म सो सेवा नेपालमा उपलब्ध छैन् ।


क्लिकमान्डु