बेलायती राजदूतको प्रश्नः पुनःनिर्माण किन यति सुस्त ?




काठमाडौं । भूकम्पपछिको पुनः निर्माणले गति नलिइरहेको बेला स्वदेशी तथा विदेशी विभिन्न निकायले चासो व्यक्त गरेका छन् ।

सरकारले भूकम्प पछिको पुनः निर्माणका लागि पुनः निर्माण प्राधिकरण नै निर्माण गरेर काम अगाडि बढाएको छ । तर काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

२०७२ बैशाखमा गएको शक्तिशाली भूकम्पका कारण करिब ९ लाख घर तथा आवास भूकम्पले भत्काएको थियो । २२ हजार बढी नागरिक घाइते भएका थिए भने १० हजार भन्दा बढी नागरिकको ज्यान गएको थियो ।

भूकम्प आएको ३ वर्ष पुग्न लाग्दा समेत पुनः निर्माणले गति नलिएको बेला नेपालको प्रमुख विकास साझेदार र सहयोगीका रुपमा रहेको बेलायतले पुनः निर्माण अगाडि बढ्न नसकेकोमा चासो व्यक्त गरेको छ ।

नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मरिसले रसुवामा भूकम्पपछिको पुनःनिर्माणले गति नलिएको भन्दै चासो व्यक्त गरेका हुन् । रसुवा भ्रमणमा पुगेका राजदूत मरिसले किन पुनः निर्माण भएन, समस्या के हो ? कसरी पुनः निर्माण प्रक्रियाले गति लिन सक्छ जस्ता विषयमा स्थानीय अधिकारीसँग चासो व्यक्त गरेका थिए ।

रसुवामा मात्रै १० हजार बढी घर तथा आवास भूकम्पले ध्वस्त पारेको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसँगको भेटमा राजदूत मरिसले जिल्लाका वस्तुस्थिति, विकास निर्माण र भूकम्पछिको अवस्थाका बारेमा चासो व्यक्त गरेका थिए ।

पुनःनिर्माणका बारेमा स्थानीय तहका प्रतिनिधि र सरोकारवाला निकायका पदाधिकारीसँग पनि राजदूत मरिसले जानकारी लिएका थिए ।

रसुवामा बेलायती सहयोग नियोग (डिएफआइडी) ले पुनः निर्माणमा सहयोग गरिरहेको छ । डिफआइडीका रसुवा संयोजक बाबुराम निउवाले राजदूत मरिसले पुनः निर्माणले गति नलिएको चिन्तित हुँदै शिघ्र पुनः निर्माणलाई गति दिन आग्रह गरेका छन् ।


क्लिकमान्डु